स्थानीय मुद्दा उठानको लागि टोलटोलमा कृष्णसार रेडियो कार्यक्रम

१७ कार्तिक २०७५, शनिबार १९:२७
 

सदरलाइनडटकम
राप्तीसोनारी (बाँके) : स्थानीय समुदायको मुद्दा उठानको लागि नेपालगञ्जमा सञ्चालनमा रहेको रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जले टोलटोलमा कृष्णसार अभियान सुरुवात गरेको छ ।
सो अभियानको पहिलो अंक बाँके राप्तीसोनारी–८, ढकेरी नयाँगाउ होमस्टेबाट सुरुवात गरेको हो । ‘स्थानीयस्तरमा रहेको समस्याका बिषयमा सम्बन्धित निकायसँग छलफल र स्थानीय स्रोतको प्रचारप्रसार तथा प्रबद्र्धन गर्ने उद्देश्यले टोलटोलमा कृष्णसार कार्यक्रम सञ्चालनमा ल्याइएको हो’–रेडियोका स्टेशन प्रमुख समेत रहेका तुला अधिकारीले भने ।
कार्यक्रममा पूर्व सांसद बादशाह कुर्मीले राप्ती सोनारी गाउँपालिको ढकेरीमा रहेको बनस्पति उद्यानलाई व्यवस्थित गर्दै स्थानीय र आन्तरिक पर्यटकको लागि आकर्षण गर्न आवश्यक रहेको सुझाव दिए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य अच्युतप्रसाद प्रसाइले आन्तरिक पर्यटकलाई लक्षित गरी नयाँगाउँ होमस्टे लगायत राप्ती सोनारी गाउँपालिकाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य सुनिल शर्मा, लायन्स मधुसुधन शर्मा लगायतले होमस्टे स्वरोजगार बनाउने कामसँगै कला संस्कृतिको प्रबद्र्धनको माध्यम भएको बताएका थिए ।
वनकर्मीहरु वन डिभिजन कार्यालय बाँकेका प्रमुख मोहन श्रेष्ठ, कार्यालयका सहायक प्रमुख गणेश खड्का, वन तथा वातावरण संरक्षण समितिका नारायण उपाध्यायले होमस्टेलाई वन, वातावरणको संरक्षणसँग जोडेर विकास गर्न सुझाव दिए ।
सञ्चारकर्मीहरु रुद्र सुवेदी, गोपी बुढा, विश्वराज पछल्डङ्ग्या, शंकरप्रसाद खनाल, कमल खत्री, साबित्री गिरी, ऋचा लुइँटेललगायतले मिडियाले ग्रामीण पत्रकारितामार्फत आवाजविहीनहरुको आवाज बुलन्द गर्न होमस्टेका समाचारलाई प्राथमिकतामा पर्नेमा जोड दिए ।
कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु कृष्णसार एफएमका प्रमुख तुला अधिकारी र कार्यक्रम संयोजक माधव अधिकारीले टोलटोलमा कृष्णसार अभियान उद्देश्य यसको प्रभावकारिताका विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रमको शुभारम्भमा होम—स्टेका संचालकहरुले स्थानीय परम्परागत थारु संस्कृतिवाट पाहुनाहरुलाई स्वागत गरेका थिए । होमस्टेका सचिव मंगल थारुले नयाँगाउँ होमस्टेबारे जानकारी दिए । कार्यक्रममा जनप्रतिनिधि, रेडियो संञ्चालक समितिका सदस्य, कृष्णसारकर्मी, पत्रकार, बन कार्यालयका प्रतिनिधि र स्थानीयहरुको सहभागिता थियो ।   


 

Next Post

कञ्चनपुरका सबै पुरुषको डिएनए परीक्षण गर्न माग

१७ कार्तिक २०७५, शनिबार १९:२७
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्नका लागि आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परीक्षण गर्न सरकारसँग माग गरिएको छ । निर्मला पन्तको हत्यारा पत्ता लगाउन आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परीक्षण गर्न माग गर्दै आईतवार निर्मला न्यायको निमित्त राष्ट्रीय अभियानले काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमार्फत […]