सदरलाइनडटकम,
कोहलपुर : बाँकेमा मंगलवार राती सडक दुर्घटनामा परी एक जना प्रहरी जवानको मृत्यु भएको छ । कोहलपुरको चपरगौडी नजिकै मोटरसाइकल दुर्घटना हुँदा सुर्खेत घर भई हाल क्षेत्रीय प्रहरी गण खजुरामा कार्यरत प्रहरी जवान भविन्द्र थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
दाङबाट कोहलपुरतर्फ आउँदै गरेको रा ४ प ६२६३ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल राती साढे १२ बजे कोहलपुर नगरपालिका वडा नम्बर १२ स्थित पूर्वपश्चिम राजमार्गको सरस्वती सामुदायिक वन क्षेत्रमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
तीब्र गतिका कारण अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको प्रहरीको अनुमान छ । मृतकको बायाँ खुट्टाको घुडा, बायाँ आँखामा चोट देखिएको र भित्र पनि गम्भीर चोट लागेको हुनसक्ने प्रहरीले बताएको छ ।
