सदरलाइनडटकम,
नेपालगञ्ज : मंगोलियन जुडो डोजो खजुराका अध्यक्ष विजयकुमार गुरुङले स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद’ भन्ने भनाई नारामा मात्र सीमित रहेको बताएका छन् । नगरदेखि गाउँपालिकासम्म र विद्यालयहरुमा समेत नाराबाहेक खेलाडीहरुलाई सेवा सुविधा उपलब्ध नगराईएको गुनासो गर्दै अध्यक्ष गुरुङले मंगोलियन जुडो डोजोले राष्ट्रको नाममा ८ वटा मेडलसहित ४ वटा गोल्ड मेडल ल्याउँदासमेत स्थानीयस्तरबाट खेलाडीहरुको प्रशिक्षण र प्रोत्साहनका लागि पहल नगरिएको बताए ।
नेपालगञ्जमा बिहीवार पत्रकार सम्मेलन गदै उनले २०५९ सालदेखि खजुरा गाउँपालिकामा जुडोको प्रशिक्षण दिँदै आएको जिकिर गरे । अध्यक्ष गुरुङले खेलकुदमा विद्यालय क्षेत्र पछि परेको हुँदा सुधारको पहल गर्न सबैसँग अपील गरे ।
स्थानीय स्तरमा मार्सल आर्ट जुडो, कराते, ताइकान्डो जस्ता खेलहरु न्युन अवस्थामा रहेको भन्दै उनले यस्तो कलालाई अघि बढाउनका लागि सहयोग माग्दा स्थानीयस्तरका राष्ट्रिय खेलाडीहरुले चोसो नदिएको गुनासो गरे ।
हाल ४५ जना खेलाडी क्लबमा आबद्ध रहेको भन्दै उनले प्रयाप्त खेल मैदान नहुँदा प्रशिक्षण दिन कठिनाई भईरहेको बताए । पत्रकार सम्मेलनमा डोजो खजुराकी उपाध्यक्ष करिश्मा सुनार, खेलाडी मंगल जिएमलगायत २ दर्जन बढी खेलाडीहरुको सहभागिता थियो ।