नेपालगन्ज हेल्थ क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

७ भाद्र २०७५, बिहीबार १९:१४
 

सदरलाइनडटकम,
नेपालगन्ज : नेपालगन्ज हेल्थ क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । बिद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गराएको भन्दै संयुक्त विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।
क्याम्पसले स्वेच्छाचारी ढङले विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको भन्दै नेपाल विद्यार्थी संघले केहि दिनअघि पनि तालाबन्दी गरेको थियो । परीक्षाको विषयलाई लिएर भएको विवाद समाधानका लागि बोलाइएको वार्तामा संघका महेन्द्र बहुमुखी क्याम्पसका कार्यवाहक अध्यक्ष चन्द्रप्रकाश देवकोट सिपीमाथि आक्रमण भएको विरोधमा विद्यार्थी संगठनले संयुक्तरुपमा तालाबन्दी गरेका हुन् ।
वार्तामा बोलाएर सांघातिक आक्रमण गर्नु आपराधिक मानसिकताबाट प्रेरित भएको बताउँदै विद्यार्थी संगठनले आक्रमण गर्ने दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई बाँके प्रशासनले संरक्षण गरेको आरोपसमेत लगाएका छन् । आक्रमण गरेर घाइते बनाएको प्रमाण हुँदाहुँदै स्थानीय प्रशासनले कारबाही नगरि चुपचाप बस्नुले प्रशासनको कार्यमाथि प्रश्न चिन्ह खडा भएको अनेरास्ववियू बाँकेका अध्यक्ष मोहित शाहले बताए ।
तालावन्दी गर्नुअघि संयुक्त विद्यार्थी संगठनले महेन्द्र बहुमुखी क्याम्पसबाट नारा लगाउँदै र्याली निकालेका थिए । विद्यार्थी नेताहरुले प्रशासनले कारवाही प्रक्रिया अगाडी नबढाए आन्दोलनको चेतावनीसमेत दिएका छन् ।
अनेरास्ववियू, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी यूनियनले विद्यार्थी नेता माथि आक्रमण गर्ने पूर्व सभाषद मैकुलाल बाल्मीकीलाई कारवाही हुनुपर्ने अडानमा छन् । बाल्मीकीको निर्देशनमा विद्यार्थी नेता देवकोटा र सुरज थापामाथि आक्रमण भएको विद्यार्थी संगठनहरुले आरोप लगाएका छन् ।
सिटिईभिटिबाट सम्बन्धन प्राप्त बाँकेमा सञ्चालित सबै कलेज शुक्रबार बन्द गर्ने संयुक्त विद्यार्थी संगठनले निर्णय गरेका छन् । पूर्वसभाषद बाल्मीकीले भने आरोप अस्विकार गर्दै आएका छन् । आफू माथि आक्रमण भएपछि प्रतिकार गर्दा देवकोटालाई चोट लागेको र आत्मरक्षा गर्ने क्रममा आफूलाई पनि चोट लागेको उनले बताए । उनी उपचारका लागि भारतको लखनऊ गएको बुझिएको छ ।

Next Post

होण्डा शोरुम नेपालगन्जलाई वडा नं. १८ ले तिरायो जरिवाना

७ भाद्र २०७५, बिहीबार १९:१४
सदरलाइनडटकम नेपालगन्ज  :  नेपालगन्ज उप–महानगरपालिका वडा नं. १८ ले आफ्नो वडामा जथाभावी फोहर फाल्ने व्यावसायी तथा व्यक्तिहरुलाई जरिवाना गर्न सुरु गरेको छ । वडा अध्यक्ष दिपक बर्मा तथा वडा सदस्य निरज ढुंगानालगायतको सक्रियतामा शुक्रबार कारकाँदो चोक आसपासमा सडकमा फोहर फाल्ने व्यावसायीलाई तोकिएको समयमा निश्चित स्थानमा मात्र फोहर फाल्न आग्रह गर्दा […]