तेस्रो नेपालगन्ज गोल्डकपको उद्दघाटन खेलमा नेपालगन्ज–११ विजयी

२१ जेष्ठ २०७५, सोमबार २०:५७
 

सदरलाइनडटकम
२१ जेठ, खजुरा (बाँके) : तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता बाँकेको खजुरा डी गाउँमा सोमबारदेखि सुरु भएको छ । नेपाल राष्ट्रिय आदर्श निमाविको मैदानमा भएको टुवोर्ग तेस्रो नेपालगन्ज गोल्डकपको उद्घाटन खेलमा आयोजक नेपालगन्ज–११ विजयी भएको छ । जितसँगै नेपालगन्ज–११ सेमिफाइनलमा पुगेको छ ।
नेपालगन्ज–११ ले सशस्त्र प्रहरीलाई २–० गोलले पाखा लगाएको हो । खेल सुरु भएको ४ मिनेटमै दायाछेउबाट नेपालगन्ज–११ का विदेशी खेलाडी मुस्तफाले निकालेको क्रसलाई विक्रमसिंह ठकुरीले गोलमा परिणत गरेका थिए ।
मध्यान्तरसम्म अर्को गोल हुन सकेन । दुवैतर्फबाट खेलाडीले केही राम्रा अवसर खेर फालेका थिए । मध्यान्तरपछिको फेरि ४ मिनेटमै आयोजक टीमका विमल रानाले अर्को गोल थपेपछि गोल अन्तर दुईको भएको हो ।
सशस्त्र प्रहरीका प्रशिक्षक सुदीप श्रेष्ठले स्कोरिङ्ग लाइन कमजोर हुँदा पराजित भएको बताए । कप्तान दीपक खड्काले शुरुवाती गोल खाए पनि गोल फर्काउँछौ भन्दा भन्दै अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको बताए ।
नेपालगन्ज–११ का प्रशिक्षक युवराज शाहीले दुई गोल्डकपमा शुरुवातमा हारेकाले यसपाली नेपालगन्जलाई ठूलो प्रेसर रहेको र पहिलो रणनीति नै सफल हुँदा जित निकाल्न सकेको बताए । कप्तान गोविन्द थापाले प्रतियोगिता नै जित्ने गरी तयारी गरेको बताए ।
प्रतियोगिताको म्यान अफ म्याच नेपालगन्ज–११ का विक्रमसिंह ठकुरी भएका छन् । उनले एउटा मोबाइल पाए । प्रदेश सांसद बाबुराम गौतम, नेपालगन्जका मेयर डा. धवल शमशेर राणा, उपमेयर उमा थापाले ठकुरीलाई मोबाइल हस्तान्तरण गरेका थिए ।
प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य बाबुराम गौतम, नेपालगन्ज उप–महानगरका मेयर डा. धवल शमशेर राणा, एन्फाका सदस्य प्रदेशसिंह राठौर, मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम वली, खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले रेफ्रीलाई बल हस्तान्तरण गरेर गरेका थिए ।
सो अवसरमा मेयर राणाले गोल्डकप प्रतियोगिता खजुरामा गर्दा यहाँको फुटबल विकासमा ठूलो टेवा पुग्ने बताए । उनले फुटबलको विकासका लागि विद्यालयस्तरमा प्रवेश गर्ने नीति बनाएर अघि बढेको बताए ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले गोल्डकपजस्ता ठूला प्रतियोगिताहरु गाउँमा गर्दा फुटबलको क्रेज बढ्ने बताए । टुबोर्ग, रेडबुल, रुस्लान, प्रिति चाउचाउलगायतले सहयोग गरेको नेपालगन्ज गोल्डकपमा ६ वटा टीमको सहभागिता रहेको छ ।
नेपालगन्ज–११, सशस्त्र प्रहरी, लाली रुपन्देही–११, सरस्वती क्लव काठमाडौं, सिएमजी संकटा क्लव र सुदूरपश्चिम–११ ले प्रतियोगितामा भाग लिएका छन् । मंगलबार सुदूरपश्चिम–११ र सरस्वती क्लवका बीचमा खेल हुनेछ ।   

Next Post

‘वडाप्रहरीले नगरको सुरक्षामा नागरिकको मन जितेको छ’

२१ जेष्ठ २०७५, सोमबार २०:५७
सदरलाइनडटकम २१ जेठ, नेपालगन्ज  : वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख तथा प्रहरी निरीक्षक राजन गौतमले आफ्नो १७ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरेर आफुले वडा प्रहरीको जिम्मेवारी सम्हालेको १७ महिना ६ दिनको अवधिमा भएका कामकारवाहीको बारेमा प्रहरी निरीक्षक गौतमले जानकारी गराउदै सो दावी गरेका हुन […]