गंगामाया अधिकारीलाई बचाउन राष्ट्रसंघलाई गुहार्छौं : मानवअधिकारकर्मीहरु

२७ भाद्र २०७३, सोमबार १२:०४
 

सदरलाइनडटकम,Ganga adhikari ko news (1)
२७ भदौं, काठमाडौंः गंगामाया बचाउ अभियानले गंगामाया अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको मुख्य आरोपी छविलाल पौडेललाई तत्काल पक्राउ नगरे आफूहरु अन्र्तराष्ट्रिय फौजदारी अदालत जाने चेतावनी दिएको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले सर्वोच्च अदालतले समेत हत्याका मुख्य आरोपीलाई तत्काल पक्राउ गर्न आदेश दिएको उल्लेख गर्दै राष्ट्रिय कानुन बमोजिम कारवाही नगरे आफूहरु अन्र्तराष्ट्रिय कानुन बमाजिम अघि बढ्ने चेतावनी दिएको हो ।
अभियानकर्ता सुवोध प्याकुरेलले गंगामायालाई तत्काल अनशन तोड्न आग्रह गर्दै भनें,‘पहिला बाँच्नुपर्यो अनि मात्रै न्यायको लागि लड्न सकिन्छ, हाम्रो अनुरोध छ कि तपाई अनशन तोड्नुहोस, जीवन बचाएर मात्रै संघर्ष गर्न सकिन्छ ।’
उनले चितवन जिल्ला अदालतले अस्पतालमै आएर बयान लिने भने पनि अधिकारी बोल्न नसक्ने अवस्थामा रहेको जनाउँदै तत्काल सरकारलाई गम्भीर हुन आग्रह गरे ।
प्याकुरेलले नेपालमा गंगामायालाई यदी न्याय दिईएन भने आफूहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रसंघको बैठकमा भाग लिन जानुअघि नै अधिकारीलाई न्याय दिलाउन राष्ट्रसंघसमक्ष र महासचिव बान की मुनलाई समेत आग्रह गर्ने जनाए ।
अर्का अभियानकर्ता प्राध्यापक कपिल श्रेष्ठले सर्वोच्च अदालतले दोषी आशंका गरेको व्यक्तिलाई पक्राउ गरेर कारवाही अघि नबढाएको घट्नलाई मुलुकमा विधिको शासन नरहेको र सरकारले दण्डहिनताको माध्यमबाट शासन र सत्ता चलाउन लागेको आरोप लगाए । श्रेष्ठले भने,‘स्वदेशमा यदि न्याय भएन भने, यो प्रक्रिया अन्र्तराष्ट्रियकरण भयो भने हाम्रा नेताहरुले सिमाना नै पार गर्न नसक्ने हुन्छन् ।’
त्यस्तै अधिवक्ता एवम् मानवअधिकारकर्मी दिनेश त्रिपाठीले सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएको आरोपीलाई अहिलेसम्म पक्राउ नगर्नु सर्वोच्च अदालतको सर्वोच्चतालाई खिल्ली उडाउनु भएको टिप्पणी गरे । त्रिपाठीले भने,‘यो व्यक्तिगत मामिलाको लागि अनशन बसेको होईन, उहाँ विधिको शासन र न्यायको लागि अनशन बस्नुभएको छ ।’
उनले न्यायको लागि पनि आफू बाँच्नुपर्ने भन्दै अनशनरत अधिकारीलाई तत्काल अनशन तोड्न आग्रह गरे । त्रिपाठीले अपराधिहरुलाई अहिलेसम्म कारवाही गर्न नसक्नु भनेको अपराधिले राज्यलाई कब्जामा लिएको आरोप लगाए ।
मानवअधिकारकर्मी शर्मिला कार्कीले अपराधिलाई दण्ड दिलाउनको लागि पनि आफू बाँच्नु महत्वपूर्ण भएकोले तत्काल अनशन तोड्न आग्रह गर्दै अहिलेसम्म अधिकारीले न्याय नपाउनु भनेको मुलुकमा दण्डहिनताको पराकाष्ठा नाघेको र राष्ट्रिय लज्जाको विषय बनेको टिप्पणी गरिन् ।
डा. केदारनरसिंह केसीले आफूलाई बचाएरमात्रै आफ्नो अधिकारकोलागि लड्न सकिने भन्दै अधिकारीलाई तत्काल अनशन तोड्न आग्रह गरे । केसीले भने,‘तपाईको साथमा हामी छौं, अनशन तोडेर आउनुहोस्, अनिमात्रै संगसँगै लडौं ।’
त्यस्तै अर्का अधिकारकर्मी ओम अर्यालले राष्ट्रको कानुनले काम गर्दैन भने त्यसपछि अन्र्तराष्ट्रिय कानुन आकार्षण हुन्छ यस्तो अवस्थामा प्रचण्डलाई युद्ध अपराधी घोषणा गरेर अन्र्तराष्ट्रिय फौजदारी कानुन बमोजिम मुद्दा अघि बढ्ने बताए । उनले अघि थपे,‘त्यसपछि यो विश्वव्यापी क्षेत्राधिकारको विषय बन्छ ।’
अर्का अधिकारकर्मी बाबुराम गिरीले सर्वोच्च अदालतले दोषी ठह्रयाएको व्यक्तिलाई अहिलेसम्म पक्राउ नगरेर सरकारले मुलुकमा विधिको शासनको धज्जी उडाएको आरोप लगाए । उनले न्यायको लडाईमा गंगामायाका श्रीमानले ज्यान गुमाउनु परेको र अहिले आएर गंगामायापनि न्यायको लागि अशनमा बस्दा राज्यले कुनै वास्ता नै नगरेको गुनासो पोखे ।
अभियानद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘यर्थाथमा सर्वोच्च अदालतको उक्त आदेश कार्यान्वयन गरियोस भनि उहाँले गर्नु भएको अति सामान्य र न्यायोचित मागको सम्बोधन अविलम्ब गरि निजको जीवन रक्षा गरियोस् भनि हामी अधिकारकर्मीहरुले वर्तमान गृहमन्त्री, राष्ट्रिय मानव अधिकार आयोग तथा प्रधानमन्त्री समक्ष निरन्तर लिखित र मौखिक अनुनय विनय गर्नुको साथै अन्तिममा राष्ट्रपतिसमक्ष गुहार माग्दा समेत राज्य स्तरबाट आजसम्म आश्वासन मात्र दिने कार्य भएकोले निज गंगामायले जाजय मागको लागि आफ्ना पति नन्द प्रसाद अधिकारीले झै मुत्यु नै बरण गर्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था प्रति हामी गहिरो दुःख र खेद समेत प्रकट गर्दछौं ।’
सर्वोच्च अदालतको आदेश बमोजिम हत्याका आरोपलाई पक्राउ नगरिएसम्म अनशन नत्याग्ने भनि अधिकारीले थालेको अनशनको आज ३२ औं दिन पूरा हुँदा समेत राज्यले कुनै वास्त नै नगरेको उनी बचाउ अभियानले आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय शिक्षण अस्पतालको सम्बन्धन दिन माँग

२७ भाद्र २०७३, सोमबार १२:०४
सदरलाइनडटकम,  २७ भदौ, काठमाण्डौ: स्वास्थ्य शिक्षा नागरिक सरोकार समाजले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय शिक्षण अस्पतालको सम्बन्धन् दिनुपर्ने माग गरेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा सरोकार मञ्चले पत्रकार सम्मेलन गरेर मेची अञ्चलमा पूर्वाधारको प्रचुर मात्रा रहेको भन्दै विभिन्न पाँच बुँदे माग अघि सारेको हो । उसले अघि सारेका […]

सम्बन्धित