सदरलाइनडटकम,
डुडुवा (बाँके) : हिउँदमा भएको पटकपटको वर्षातले तरकारी खेती गर्ने बाँकेका किसान चिन्ति भएका छन् । बेमौसमी बर्षातले विशेषगरी आलु र गोलभेंडामा धेरै क्षति पुर्याएपछि यहाँका किसान चिन्तित भएका हुन् । जिल्लाका किसानले लगाएका आलु, गोलभेँडा, काउली, बन्दा, खुर्सानीजस्ता सागसब्जीमा हिउँदे वर्षातले क्षति पुगेको कृषि ज्ञान केन्द्र बाँकेका बाली संरक्षण अधिकृत शकिल अहमदले बताए ।
उनका अनुसार तरकारीबालीमा ७५ प्रतिशतसम्म क्षति पुगेको छ । बाँकेमा दुई हजार आठ सय हेक्टर क्षेत्रफलमा आलु खेतीमध्ये सबभन्दा बढी डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनिया गरिन्छ । बेमौसमी वर्षातका कारण त्यहाँ ७५ देखि ८० प्रतिशत आलुबालीमा क्षति पुगेको छ । कृषक बंशीलाल मौर्यले करीब दुई हेक्टर क्षेत्रफलमा लगाएको आलुबाली वर्षातले नोक्सान भएको बताए । यस पटक लगानीसमेत नआउने कृषक मौर्यको गुनासो छ ।
यस्तै जिल्लामा करीब पाँच सय हेक्टर जमीनमा गोडभेंडा खेती गरिएको छ । पटकपटकको हिउँदे वर्षातका कारण दुई कठ्ठामा लगाइएको टमाटरबाट लगानीसमेत उठाउन नसकिएको डुडुवा ६ हिरमिनियाका किसान रत्तीराम कुम्हारको भनाई छ ।
जिल्लामा करीब ६ हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । तीमध्ये आलु दुई हजार आठ सय, गोलभेँडा एक हजार पाँच से, काउली, बन्दा पाँच से र खुर्सानी तथा अन्य तरकारी पाँच सय हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ ।
हिउँदे वर्षाका कारण जिल्लामा सबैभन्दा बढी आलु र गोलभेँडा खेतीमा क्षति पुगेको छ । अग्लो ठाउँभन्दा खाल्डो जग्गामा लगाएको तरकारीमा बढी क्षति पुगेको हो ।