सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचा’ जी को अन्त्येष्टि गरिएको छ । बाँकेको राप्तीस्थित सिधनिया घाटमा शुक्रवार चाचा जी को अन्तिम संस्कार गरिएको हो ।
त्यसअघि चाचाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपालगञ्जको रानी तलाउस्थित पुरानो घरमा राखिएको थियो । श्रद्धाञ्जलीपछि चाचाको पार्थिव शरीरलाई नगरपरिक्रमा गराई सिधनिया घाटमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको हो ।
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका महासचिव रमेश विष्टले सादगी, शालिन र आफ्नो कर्ममा दृढ ब्यक्तित्वका रुपमा पन्नालाल गुप्तको पहिचान स्थापित भएको उल्लेख गरे । गुप्तको निधनले पत्रकारिता क्षेत्रमा अपुरणिय क्षती पुगेको भन्दै विष्टले सम्पूर्ण पत्रकारहरुले चाचा जी को सिद्धान्तलाई अंगिकार गर्न सक्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतमले चाचा जीले अनुशरण गरेको बाटोमा अहिलेका पत्रकारहरु लागे समाज परिवर्तनमा ठुलो टेवा पुग्ने बताए । चाचा यस क्षेत्रका धरोहर भएको हँुदा उनले पत्रकारिता क्षेत्रमा गरेको योगदानलाई सम्मान गर्नुपर्नेमा गौतमले जोड दिए ।
कार्यक्रममा जिल्लाका सबै पत्रकार, राजनीतिक दलका प्रतिनिधि, ब्यापारी ब्यवसायीलगायतले चाचाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । चाचाको बुधवार बेलुका नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा निधन भएको हो । परिवारका अनुसार गुप्ता अचेत भएपछि अस्पताल पुर्याएलगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
उनका श्रीमती, चार छोरा र एक छोरी छन् । वि.सं. १९८५ सालमा जन्मिएका गुप्ता स्थानीय ‘किरण साप्ताहिक’ पत्रिकाको सम्पादकका रुपमा कार्यरत थिए ।