७२ घण्टे अल्टिमेटम दिँदै स्ववियुले बुझायो १५ बुँदे माग

सदरलाइन संवाददाता १७ फाल्गुन २०८०, बिहीबार १४:२७
 

नेपालगञ्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनसमक्ष विभिन्न माग राख्दै ७२ घण्टे अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाएको छ ।

बिहीवार क्याम्पस प्रमुख लालमणि आचार्यसमक्ष विभिन्न १५ बुँदे माग राखी ७२ घण्टे अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाइएको महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष माधव खत्रीले जानकारी दिए ।

क्याम्पसमा देखिएका विभिन्न समस्या यथाशीघ्र समाधान गर्नुपर्ने भन्दै क्याम्पस प्रशासनसमक्ष विभिन्न मागसहितको ध्यानाकर्षण पत्र बुझाइएको र ७२ घण्टासम्म पनि स्ववियुले राखेका मागहरु पूरा नभएमा थप सङ्घर्षका कार्यक्रमहरु गरिने अध्यक्ष खत्रीले जानकारी दिए । उनका अनुसार क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने, व्यवस्थित पार्किङ हुनुपर्ने, खेल मैदानको निर्माण गरिनुपर्ने, सूचना बोर्ड राखिनुपर्ने, शुद्ध खानेपानीको व्यवस्थापन गर्नुपर्ने, पुस्तकालय तथा होस्टेलको व्यवस्थापन गरिनुपर्ने, शौचालय, कक्षा कोठा तथा क्याम्पस प्राङ्गणको सरसफाइ हुनुपर्ने मागहरु पेश गरिएको छ ।


त्यसैगरी, चमेना गृहको उचित व्यवस्थापन, ल्यावको व्यवस्थापन, कक्षाकोठामा बत्ती, पङ्खा, प्रोजेक्टर, डस्टबिन तथा ह्वाईट बोर्डको व्यवस्थापन गर्नुपर्ने, आन्तरिक स्रोतबाट सञ्चालित कार्यक्रमहरु (बिआईटी, बिसीए, बिएससी सिएसआईटी, बिबिए र बिपिए)का विद्यार्थीहरुसँग सम्बन्धित क्रियाकलापहरु स्ववियुको मातहतमा हुनुपर्ने, सम्पूर्ण सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, कर्मचारी त्रिवि नियमानुसार निर्धारित समय अवधिसम्म आफ्नो कार्यकक्षमा बस्नुपर्ने, सेमेस्टर कार्यक्रमको आयव्यय सार्वजनिक गर्नुपर्ने र सम्पूर्ण विद्यार्थीको परिचयपत्र समान किसिमको गराउनुपर्ने मागसहितको ध्यानाकर्षण पत्र बुझाइएको अध्यक्ष खत्रीले बताए ।

स्ववियुले राखेका मागहरु सकारात्मक रहेको भन्दै क्याम्पस प्रमुख लालमणि आचार्यले क्याम्पसको समग्र विकासका लागि सबै पक्ष मिलेर हातेमालो गरी अगाडि बढ्नुपर्ने बताए । उनले विद्यार्थीले राखेका मागहरुका बारेमा छलफल गर्नका लागि शुक्रवार बिहान प्रशासन प्रमुख, विभागीय प्रमुख, सहायक क्याम्पस प्रमुखसहितको बैठक बोलाएको जानकारी दिए । उनले कर्मचारी अभावका कारण पनि केही कुराको उचित व्यवस्थापन हुन नसकेको भन्दै आवश्यक सबै कुराको व्यवस्थापन गर्न क्याम्पस प्रशासन लागिरहेको बताए ।

क्याम्पस प्रशासनले आफ्ना मागहरु समयमै सम्बोधन नगरे चरणबद्ध रुपमा थप सङ्घर्षका कार्यक्रम गरिने स्ववियुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुन्न छाडिए गुन्द्री चकटी

१७ फाल्गुन २०८०, बिहीबार १४:२७
नेपालगञ्ज : परालबाट बनाइने गुन्द्रीको प्रचलन हराउँदै गएको छ । प्रविधिको विकास र यसको प्रयोगसँगै धानको परालबाट बनाइने गुन्द्री बुन्ने प्रचलनसमेत हराउँदै गएको छ । गाउँघरमा फाट्टफुट्ट मात्र गुन्द्री बुन्ने गरेको देखिन्छ । पाकेको धान काटेर झाँटेपछि धान र पराललाई अलग बनाई गुन्द्री बुन्नका लागि अलि लामो र सग्लो पराल छुट्याएर बाँकी पराललाई […]