नेपालगञ्जद्वारा महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

सदरलाइन संवाददाता १९ मंसिर २०८०, मंगलवार १४:०८
 

नेपालगञ्ज : नेपालगञ्जमा २३ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । २०औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको हो । नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान र विदाई गरेका थिए ।

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न हरेक वर्ष सम्मान गर्दै आएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । २३ वटै वडाका स्वयंसेविकालाई सम्मान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले मंगलवारनै उमेर हद पूरा भएका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई विदाई गरेको छ । ६० वर्ष उमेर पुगेकालाई विदाई गरिएको हो । विदाई हुने स्वयंसेविकालाई जनही ५० हजार रुपैयाँ दिने गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडामा १५६ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार खर्च वार्षिक जनही १२०० रुपैयाँ, चाडपर्व खर्च वार्षिक जनही रु. २५०० र दिवस मनाउने खर्च दिने गरेको छ । यस्तै संघ सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई लुगा भत्ता वार्षिक जनही १० हजार, यातायात खर्च १२ हजार र वार्षिक समीक्षा खर्च दिने गरेको छ ।


दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले महिला स्वास्थ्य स्वयंसेविका विना स्वास्थ्य क्षेत्रमा अपेक्षित सम्भव नहुने बताए । विष्टले महिला स्वास्थ्य स्वयंसेविकाको लगावले स्वास्थ्य क्षेत्रले फड्को मारेको बताए । उनले राज्यले दिने गरेको सेवा सुविधा नगण्य रहेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा बढाउन प्रतिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खड्का, स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेल, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख चन्द, वडा नम्बर १५ पिप्रहवा स्वास्थ्य केन्द्र प्रमुख जयराम पाण्डे, विदाई भएकी महिला स्वास्थ्य स्वयंसेविका तुलसा थापा लगायतले बोलेका थिए । कार्यक्रम अघि नगरमा प्रभातफेरि गरिएको थियो । महिला स्वास्थ्य स्वयंसेविका संघ नेपालगञ्ज उपमहानगरपालिकाकी कार्यवहाक अध्यक्ष ज्योति श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन महिला स्वास्थ्य स्वयंसेविका सुष्मा चौधरीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘लिजा’को उद्देश्य, विधि र प्रणालीबारे प्रशिक्षण सम्पन्न

१९ मंसिर २०८०, मंगलवार १४:०८
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को उद्देश्य, विधि र प्रणालीबारे प्रशिक्षण दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा भएको दुई दिने प्रशिक्षण कार्यक्रममा पहिलो दिन कर्मचारी र दोस्रो दिन जनप्रतिनिधिलाई अनुशिक्षण गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका लिजा फोकल पर्सन प्रविन रानाले बताए । प्रदेश सुशासन केन्द्रको सहजीकरणमा आयोजित […]