तिजमा रमाउँदै राना थारु समुदाय

सदरलाइन संवाददाता २ भाद्र २०८०, शनिबार १३:०२
 

नेपालगञ्ज : सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा शनिवार तिज पर्व मनाइँदै छ । दुवै जिल्लामा बसोबास गर्ने राना थारु समुदायले तिज पर्व मनाउन लागेको हो ।

तिज यो समुदायको ठुलो पर्व मानिन्छ र धूमधामसँग मनाउने गरिएको छ । शनिवार महिला दिदीबहिनीहरू दिनभरि निराहार व्रत बसेर तिज पर्व मनाउने राना थारु समुदायका बुद्धिजीवी डा. जीवन रानाले बताए । “पानीसमेत नखाएर दिनभरि व्रत बस्ने गर्छौ”, उनले भने,“पछि साँझ नदीमा पूजाआजा गरेर त्यहीँ प्रसादको रूपमा तयार पारिएको परिकार खाने चलन छ ।”

राना थारु समुदायको तिज अरू समुदायको तिजभन्दा फरक रहेको छ । महिलाहरू आफ्नो दाजुभाइ, भतिजाको दीर्घायुको कामना गर्दै व्रत बस्ने गरेका छन् । त्यसै गरी, आफूहरूको तिज दरबिनाको तिज रहेको रानाले बताए । “अरू समुदायको जस्तो हाम्रो तिजमा दर खाने चलन छैन”, उनले भने,“साँझ पूजाआजा गरेर एकैचोटी प्रसाद र भात खाने हो ।” नेपालमा अन्य समुदायले मनाइने तिजको अवसरमा महिनौँ दिनसम्म दर खाने गरेको देखिन्छ । तर, राना थारु समुदायका महिलाले दरबिनाको तिज मनाउने गरेका छन् ।


शनिवार तीजको दिन दिनभरि निराहार व्रत बसेर अपराह्न वा बेलुकातिर नदीमा गएर पूजा गर्ने चलन रहेको छ । त्यस क्रममा व्रतालु महिलाहरू समानकी डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर लग्ने गर्दछन् । यसै गरी, झुरकी (कुसको गाँठो) बनाएर लग्ने चलन छ । विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने गरेको स्थानीय रामरतोदेवी रानाले बताइन् ।

मुरिया र झुरकी दुवै नदीमा सेलाइन्छ । सो क्रममा व्रतालुहरुले झुरकी र मुरियालाई नदीको धारमा छोडेर “धारै धार टाढा जानू, हाम्रो दाजुभाइ, भतिजाको उमेर बढाउनू” भन्ने गरेको जनाइएको छ । झुरकी नदीमा बगेर जति टाढा गए दाजुभाइ, भतिजाको आयु त्यति नै लामो हुने विश्वास रहेको उनले उल्लेख गरिन् ।

तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ । यसै गरी, दाजुभाइहरूले व्रतालुहरूलाई आशीर्वादको साथै सकेको दक्षिणा पनि दिने गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा अवरोध

२ भाद्र २०८०, शनिबार १३:०२
नेपालगञ्ज : कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन विस्तारमा देखिएको जग्गा विवाद अझै सुल्झिएको छैन । विवाद समाधान नहुँदा तीन वर्षदेखि लाइन विस्तार कार्यमा अवरोध सिर्जना भएको छ । विद्युत लाइन विस्तार गर्दा बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुनेभएपछि त्यहाँका नागरिकले अवरोध सिर्जना गरेका हुन् । विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०अनुसार बैजनाथ […]