एचआइभी संक्रमितलाई थप पाँच वर्ष सहयोग गरिने

सदरलाइन संवाददाता १२ बैशाख २०८०, मंगलवार १२:४६
 

नेपालगञ्ज : स्वास्थ्य सेवामा एचआइभी संक्रमितको पहुँच पुगे पनि समाजले हेर्ने दृष्टिकोण परिवर्तन नभएको नेपालगन्जमा आयोजित एक कार्यक्रममा बताइएको छ । समाजलाई एचआइभीको बारेमा राम्रोसँग बुझाउन नसक्दा उनीहरु अहिले पनि समाजबाट तिरस्कृत हुन परेको कार्यक्रमका सहभागीले बताए ।

एचआइभी संक्रमितका लागि एएचएफले भेरी अस्पतालमा संचालन गरेको पाँच वर्षिय कार्यक्रमका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्रि चापागाईले अस्पतालले एचआइभी संक्रमितको निशुल्क उपचार गर्दै आएको बताए । उनले संक्रमितलाई आवश्यक पर्ने सम्पूर्ण सेवा भेरी अस्पताल दिँदै आएको बताउँदै सहकार्यका लागि एएचएफलाई धन्यवाद दिए ।

भेरी अस्पतालका सूचना अधिकारी समेत रहेका एचआइभी/एड्स फोकल पर्सन कन्सल्टेन्ट फिजिसियन डा. संकेत रिसालले असावधानीका कारण अहिले पनि एचआइभी सर्ने क्रम नरोकिएको बताए । उनले संक्रमितलाई आवश्यक परेको जुनसुकै बेला भेरी अस्पताल सहयोग गर्न तयार रहेको बताए ।

उनले भेरी अस्पतालमा एचआइभी संक्रमित गर्भवती महिलालाई पिएमटी सेवा समेत दिँदै आएको बताए । एएचएफसँगको सहकार्यमा भेरी अस्पतालले संक्रमितलाई परामर्श, औषधि, ल्याव, विज्ञ जनशक्ति, उपचारका लागि आउने संक्रमितलाई यातायात खर्च लगायतमा सहयोग गर्दै आएको उनले जानकारी दिए । ‘संक्रमितको उपचारमा भेरी अस्पताल रातदिन खटिन तयार छ,’ डा. रिसालले भने ।

सोही कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले एचआइभी संक्रमण रोक्न सचेतना आवश्यक रहेको बताइन् । उनले एएचएफलाई सचेतनाका कार्यक्रमलाई थप गरि गाउँ–गाउँसम्म पुर्याउन सुझाव दिइन् ।


नेपालगञ्ज उपमहानगरपालिकाका एचआइभी फोकल पर्सन अधिकृत जागेश्वर बस्नेतले उपमहानगरले संक्रमण फैलिन नदिन सचेतनामुलक कार्यक्रम गर्दै आएको बताए । ‘गाउँको भन्दा एचआइभीको जोखिम सहरमा छ । गाउँसँगै सहरमा सचेतनामुलक कार्यक्रम गर्न जरुरी छ,’ उनले भने ।

असहाय सेवा संघका कार्यकारी प्रमुख रविन्द्रसिंह राठौरले एचआइभी संक्रमितले उपचार पाए पनि आर्थिक समस्यासँग जुधिरहेको बताए । उनले भने, ‘संक्रमितहरुको स्वास्थ्य नाजुक छ । आर्थिक अवस्था कमजोरी छ । उहाँहरुलाई जिविका निर्वाह गर्न धौ–धौ छ,’ उनले भने ।

कार्यक्रममा एएचएफ नेपालगञ्जका प्रमुख संजयकुमार पौडेलले एचआइभी संक्रमितको उपचारलाई सहज र सरल बनाउन एएचएफले काम गर्दै आएको बताए । एचआइमी संक्रमितका लागि एएचएफले नेपालमा सन् २००८ देखि काम गर्दै आएको बताउँदै उनले अव फेरि पाँच वर्ष संक्रमितको साथमा रहने जानकारी दिए । ‘एएचएफ संक्रमितको उपचार र सहयोगमा तल्लिन छ, आवश्यकता अनुसार सेवा बढाउन पनि एएचएफ तयार छ,’ उनले भने ।

उनले ११ नोभेम्बर, २०२२ देखि सन् १० नोभेम्बर, २०२७ सम्म परियोजना संचालन हुने जानकारी दिए । ‘दिगो विकास लक्ष्य तथा राष्ट्रिय एचआईभी रणनीति योजना २०२१–२०२६ ले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्न एचआइभी संक्रमितलाई दिँदै आएको सेवा गुणस्तरिय बनाई एआरटी सेवालाई थप प्रभावकारी बनाइने छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठाकुरबाबा नगरपालिकामा शैक्षिक नियम लागु

१२ बैशाख २०८०, मंगलवार १२:४६
बर्दिया : ठाकुरबाबा नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा विद्यार्थीलाई एकै प्रकारको शिक्षा, पोसाक, टाई र बेल्टको व्यवस्था गरेको छ । नगरभित्रका विद्यालयमा एकरुपता ल्याउन यसै शैक्षिक सत्रबाट यो नियम लागू गरेको हो । विद्यार्थीका लागि टाई र बेल्ट नगरपालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ । यसका लागि १० लाख बजेट […]

सम्बन्धित