थारु समुदायमा माघीको चहलपहल शुरु

सदरलाइन संवाददाता १७ पुष २०७९, आईतवार १४:५३
 

नेपालगञ्ज : माघेसङ्क्रान्ति अर्थात् थारुजातिको विशेष पर्व माघी नजिकिएसँगै बाँकेलगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा चहलपहल बढेको छ ।

थारु जातिको सबैभन्दा ठूलो पर्व माघीको रौनक छाएको छ । थारु समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ ।

थारु बस्तीमा खानपिन र नाचगानको तयारी भइरहेको घोराही उपमहानगरपालिका–१७ पचुर्खाका विष्णु चौधरीले बताए । माघि नजिकिएसँगै थारु समुदाय काममा जुटेका छन् । माघीपर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार आजभोलि तयारी भइरहेको छ ।


गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा सङ्कलन, धान, चामल कुटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु समुदायका महिला व्यस्त रहेको उनले बताए । ढिक्री पकाउने, अनदीको विशेष झोल (जाँड), अनदीको रोटी, भातलगायत विशेष मिठामिठा परिकारको जोहो गर्ने चलन छ ।

थारु समुदायका व्यक्तिले माघीको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगगरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ ।

खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ । छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली)का रुपमा चेलीबेटीका घरमा पुर्याउने प्रचलन रहेको मतहवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धारिलो हतियार प्रहारबाट नेपालगञ्जमा तीन जना घाइते

१७ पुष २०७९, आईतवार १४:५३
नेपालगञ्ज : नेपालगञ्जको गणेशपुरमा एक समुहले धारिलो हतियार प्रहार गर्दा ३ जना घाइते भएका छन् । उक्त समुहले खुँडा र खुकुरी प्रहार गर्दा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ निवासी अनुराग शाह, सोही ठाउँ निवासी उज्वल शाह र वडा नम्बर ४ का सुगम शाह घाइते भएका हुन् । नेपालगञ्ज ४ गणेशपुरस्थित […]