सदरलाइनडटकम,
दाङ : दाङको गढवा गाउँपालिका ४ का एक व्यक्तिले धारिलो हतियार प्रहार गरी बुहारीको हत्या गरेका छन् । रामनगर बस्ने ६५ वर्षीय कुलमान जोगी कुँवरले २७ वर्षीया कान्छी बुहारी बसन्ती कुँवरमाथि बुधवार धारिलो हतियार प्रहार गरेका थिए ।
हतियार प्रहारबाट गम्भीर घाइते भएकी बसन्तीको कोहलपुर मेडिकलमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठोरले बताए । प्रहरीका अनुसार कुलमान जोगी कुँवरले बुहारीको हातको नाडी, पेट र खुट्टामा धारिलो हतियार प्रहार गरेका थिए ।
राति पौने ८ बजे नातिको विवादले कान्छी बुहारीमाथि धारिलो हतियार प्रहार भएको प्रहरी निरीक्षक राठोरले जानकारी दिए । मृतकका श्रीमान सञ्जय कुँवर कुखुरालाई दाना हाल्न बाहिर गएको समयमा घटना घटेको प्रहरीले जनाएको छ ।
