रामनवमी पर्व आज भक्तिपूर्वक मनाईंदै

३० चैत्र २०७५, शनिबार १५:२१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : चैते दशैं एवं रामनवमी पर्व शनिवार धुमधामसँग मनाइदै छ । चैते दशैंको भोलीपल्ट रामनवमी पर्व मनाइने गरेपनि यस वर्ष दुवै तिथि एकै दिन परेकाले चैते दशैं तथा रामनवमी पर्व एकै दिन मनाइँदै छ । चैते दशैं शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाईंदैछ ।
चैते दशैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने परम्परा छ । यस दिन घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । शक्तिस्वरूपा भगवतीको आराधनाको महत्व सप्तशती चण्डी, देवीभागवत, कालिका पुराण आदिमा उल्लेख छ ।
यस्तै रामनवमीको अवसरमा श्रद्धा तथा भक्तिपूर्वक मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरिँदै छ । हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । देशभरका राम मन्दिरहरुमा पूजापाठ गरी यो चाड मनाइँदै छ ।
असुर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरहरुमा पूजापाठ गर्ने चलन रहेको हो । त्रेतायुगमा यसै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका बिभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ ।
रामनवमीका अवसरमा देशभरीका शक्तिपीठमा भक्तजनहरुको भीड लागेको छ । यस्तै नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वारी मन्दिरमा पुजा आराधना गर्नेहरुको आज घुईचो लागेको छ । बागेश्वारी मन्दिरमा नेपाल र भारतका हजारौं श्रद्धालुको भीड लागेकोले सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Next Post

ट्रम्पसँग तेस्रो वार्ताका लागि उत्तर कोरियाली नेताको शर्त

३० चैत्र २०७५, शनिबार १५:२१
सदरलाइनडटकम, काठमाण्डौ : उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकाको सही दृष्टिकोण वा मनोवृत्ति रहने भए आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो वार्ताका लागि तयार हुने बताएका छन् । नेता किमले जारी गरेको एक वक्तव्यमा अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौताका आधारहरु पारदर्शी र आपसीरुपमा स्वीकार्य बनाए आफू वार्ताका लागि तयार रहेको […]