नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणको संभावित तेस्रो लहरको तयारीको लागि करिव ४६ लाख बराबरको स्वास्थ्य सामाग्री नेपालगञ्ज उपमहानगरलाई उपलब्ध भएको छ । जर्मन दूताबासले जिआईजेडको माध्यामबाट जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको रोहवरमा बाँके रेडक्रश मार्फत सो सामाग्री उपलब्ध गराएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लामा संभावित तेस्रो लहरको तयारी तीब्र पारिएको बताउदै प्राप्त स्वास्थ्य सामाग्रीले कोभिडसंगको लडाईमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने–‘महामारीसंग जुध्नको लागि सबैको सहकार्य संगै सहयोग आवश्यक रहेको छ । नेपालगञ्ज उपमहानगरले झै जिल्लाका सबै पालिकाले तयारी तीब्र पार्न आवश्यक छ । बाँकेमा पुनः संक्रमणले उकालो लाग्दै गरेको अवस्थामा सबै सचेत हुनको साथै सहकार्य गर्न आवश्यक छ । यसरी प्राप्त भएको सामाग्रीले हौसलासंगै महामारीसंग जुध्नको लागि सहयोग पुग्छ ।’
उनले सम्भावित तेस्रो लहरको लागि आवश्यक तयारी पुरा भएको बताउदै पछिल्लो समय कोरोना संक्रमणको ग्राफ उकालो लाग्दा कोहलपुर उच्चतम बिन्दुमा रहेको पाईएकोले कोहलपुरमा जाँचको दायरा बढाउनुको साथै समुदायलाई संभावित संक्रमणबाट जोगाउन सचेतना अभियान सञ्चालन गरिने बताए ।
नेपालगञ्ज उपमहानगरका प्रमुख डा.धवल शम्शेर राणाले नेपालगञ्ज कोरोना संक्रमणको पहिलो र दोस्रो भेरिएन्टमा हटस्पष्ट बनेको स्मरण गर्दै उहाँले उपमहानगरले संभावित तेस्रो लहरको लागि पनि तयारी तीब्र परिएको बताए । उनले कोरोनासंग जुध्नको लागि जर्मन दुताबास, जिआईजेड, बाँके रेडक्रशले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले ठूलो सहयोग पुगेको बताउदै धन्यबाद ब्यक्त गरे ।
नेपालगञ्ज उपमानगरलाई होल्डिङ्ग सेन्टर निर्माण गर्नेदेखि विभिन्न चरणमा बाँके रेडक्रशले सहयोग तथा सहकार्य गर्दै आएको जानकारी दिदै बाँके रेडक्रशका सभापति गोबद्र्धन सिंह सम्झनाले कोभिड–१९ बिरुद्धको अभियानमा आफुहरु पनि साथ मै रहेको प्रतिबद्धता जनाए ।
रेडक्रश मार्फत आइतबार ४६ लाख ८ हजार ७ सय ५० मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको हो । सो सामाग्रीहरुमा सफाईकर्मीको लागि आवश्यक पर्ने ड्रेश ३६ जोर, खुट्टाले चलाउने हात धुने स्टेशन २, झुल १ हजार थान, हेण्ड सेनिटाईजर ५सय एमएलको १ सय बोतल, सर्जिकल मास्क ५ हजार, ग्लोब्स ५ हजार जोर, अक्सिजन सिलिण्डर ४६ लिटरको ग्याँस सहित ५० वटा, पल्स अक्सिमिटर औलामा फिट हुने ३०, हातमा बाँधेर प्रयोगमा आउने पल्स अक्सिमिटर ५, ईन्फारेड थर्मामिटर ३०, ईलेक्टीकल सेनिटाईजर डिस्पेन्सर १०, पिपिई सेट ५सय सेट, अक्सिजन कन्सन्ट्रेटर १० लिटरको ५, फोहर संकलनको लागि आवश्यक सामाग्री २४ सेट, सोडियम हापोक्लोराईड ५० जार र लुम्बिनी प्रदेश रेडक्रशद्वारा उपलब्ध गराईएको ३ थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर पनि सोही समयमा हस्तान्त्रण गरिएको थियो ।
सो अवसरमा उपमहानगरका उपप्रमुख उमा थापामगर, जर्मन दुतावास तथा जिआईजेडका लुम्बिनी प्रदेश संयोजक निराजन सुवेदी, नेपालगन्ज स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द, बाल मन्दीर सञ्चालक समिति अध्यक्ष दत्तप्रसाद आचार्यलगायतको सहभागिता रहेको थियो । नेपालगन्ज उपमहानगरले बालमन्दिरको मर्मत गरी ५० बेडको अक्सिजन सुविधा सहितको आईशोलेशन सेन्टर निर्माण गरी तयारी अवस्थामा राखेको जनाएको छ ।