सार्वजनिक सेवा प्रवाहबारे नेपालगञ्जमा फोटो प्रदर्शनी

९ आश्विन २०७५, मंगलवार १८:२५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : राज्यले प्रदान गर्ने सार्वजनिक सेवाहरुको अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले मंगलवार नेपालगञ्जमा फोटो प्रदर्शनी गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजनाको आयोजनामा भएको प्रदर्शनीमा ३४ वटा जिल्लाको स्वास्थ्य, शिक्षा, कृषि, विपद्सँग सम्बन्धित तस्बिरहरु समावेश गरिएको थियो ।
प्रदर्शनीको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोयानारायण सुवेदीले फोटोको माध्यमबाट सार्वजनिक सेवा प्रवाहबारे स्थानीय सरकारलाई समेत सजग बनाएको बताए । परियोजनाका उपप्रमुख सजना महर्जनले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि फोटोको माध्यमबाट वकालत गर्न प्रदर्शनी गरिएको जिकिर गरे ।
यसैगरी इक्वेल एक्सेसका मिडिया आउटरिच म्यानेजर बिशाल रानामगरले राज्यले जनतालाई दिनुपर्ने सेवाप्रति जिम्मेवार बनाउन फोटो प्रदर्शनले मदत पुग्ने बताए । फोटो प्रदर्शनी अवलोकन गर्न आएका ब्रिटिस इंगलिस बोर्डिंग स्कुलका छात्राहरु स्नेहा घिमिरे र सुभेक्षा चन्दले किताबमा शिक्षा, स्वास्थ्यसँग सम्बन्धित पढेपनि प्रदर्शनीमा राखिएको फोटोले यसबारे बुझ्न मदत मिलेको प्रतिक्रिया दिए ।
नेपालका ३४ वटा जिल्लामा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजनाले सामुदायिक संघसंस्था तथा मिडियाको क्षमता अभिवृद्धिका माध्यमबाट सार्वजनिक सेवा प्रवाहबारे वकालत गरिरहेको छ ।
युएसएडको सहयोग तथा एफएचआईको साझेदारीमा सञ्चालन भएको परियोजनाअन्तर्गत गरिएको प्रर्दशनीको इक्वल एक्सेस, हरप्लेस र सूचना तथा मानव अधिकार केन्द्रले संयोजन गरेको थियो ।
प्रदर्शनीमा ३४ जिल्लाका सामुदायिक सञ्चारकर्मीहरुले खिचेका ४९ वटा फोटो प्रदर्शनमा राखिएको थियो । प्रदर्शनीलाई बाँकेका विभिन्न सरकारी तथा गैरसकारी निकायका प्रतिनिधी, सञ्चारकर्मी, शिक्षक तथा विद्यार्थी गरी ३ सय बढिले अवलोकन गरेको आयोजकले जनाएको छ ।


Next Post

९ आश्विन २०७५, मंगलवार १८:२५