सबैका लागि विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्ने अभियानमा छौंः मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता १० श्रावण २०८२, शनिबार १४:२९
 


नेपालगन्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विशेषज्ञ उपचार सेवालाई सबैको पहुँचमा पु-याउने गरी सरकारले भूमिका बढाउदै लगेको बताएका छन् । प्रदेश सरकारले विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्दै प्रत्येक नागरिकका लागि समान पहुँच स्थापना गर्ने उद्देश्यले मातहतका अस्पतालहरूको सेवा, सुविधा र संरचना सुदृढ बनाउँदै लगेको स्पष्ट पारेका हुन् । शनिबार पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उपचार सेवा जनताको पहुँचमा पु-याउन सरकार सबै तहबाट सक्रिय रहेको धारणा राखे ।

 

उनले भने,– ‘हिजोको अवस्था के थियो ? हाम्रा अस्पताल कस्ता थिए ? त्यहाँ कस्तो सेवा, सुविधा थियो ? अहिले कस्ता भएका छन् ? तुलना गर्न जरुरी छ । प्रदेश सरकार बनेपछि अस्पतालको सेवा सुदृढ भएका छन् । विशेषज्ञ उपचार सेवालाई सबैको पहुँचमा पु-याइरहेका छौं ।’ मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई स्वास्थ्य सेवा तर्फ उत्कृष्ट प्रदेश बनाउने गरी सरकारले लगानी गरिरहेको स्पष्ट पारे । अस्पताललाई रिफर गर्ने होइन, त्यहीँ उपचार गर्न सक्ने बनाउने लक्ष्यतर्फ सरकार अघि बढेको उल्लेख गर्दै उनले स्वास्थ्यकर्मीलाई सेवा प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउन निर्देशन दिए । उनले भने, – ‘स्वास्थ्यकर्मीहरूलाई भन्न चाहन्छु, काबु बाहिरका जटिल रोगबाहेक अन्य सबै सेवा यहीँबाट दिनुपर्छ । बिरामीलाई उपचार गर्नु भन्दा रिफर गर्दा आनन्द मान्ने प्रवृत्ति रोक्नैपर्छ ।’

 

मुख्यमन्त्री आचार्यले अस्पतालमा मृगौलाको डायलासिस सेवा विस्तार गरिएको, आँखा उपचारका लागि छुट्टै कक्ष निर्माण भएको समेत जानकारी दिए । पछाडि परेका भूगोल, क्षेत्र र समुदायलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम अगाडि बढाइएको जानकारी दिंदै उनले पश्चिम नवलपरासीलाई हेर्ने दृष्टिकोणमा कमजोरी आउन नदिइने स्पष्ट पारे । उनले क्रमागत, बहुवर्षीय तथा वार्षिक योजनामा यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको जानकारी गराए ।


मुख्यमन्त्री आचार्य र स्वास्थ्यमन्त्री खेमबहादुर सारुले संयुक्त रूपमा पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उद्घाटन गरेका हुन् । स्थापना भएको ११४ वर्ष पुरानो अस्पताल हाल ५० शैयाको क्षमतामा सञ्चालनमा छ । प्रदेश सरकारको १३ करोड ६६ लाख रुपैयाँ लागतमा अस्पतालको नयाँ भवन निर्माण गरिएको हो ।

हाल अस्पतालमा ५९ जना कर्मचारी दरबन्दी कायम छ । जसमध्ये मेडिकल सुपरिटेन्डेन्ट १ जना, जनरल मेडिसिन २, सर्जरी २, गाइनेकोलोजी ९महिला तथा प्रसूति रोग० ३, हाडजोर्नी १, नेत्र ९अप्थाल्मोलोजी० १, रेडियोलोजी १, जेरियाट्रिक १, मेडिकल अधिकृत ४ तथा डेन्टल सर्जन २ जना गरी १९ जना चिकित्सक कार्यरत छन् ।

अस्पतालमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, प्रयोगशाला सेवा, अन्तरङ्ग सेवा, शल्यक्रिया सेवा, निःशुल्क प्रसूति सेवा, दन्त तथा आँखा उपचार, लैङ्गिक हिंसा सम्बन्धी परामर्श तथा उपचार, सुरक्षित गर्भपतन, हाडजोर्नी र फिजियोथेरापी, जनरल फिजिसियन, सिकलसेल एनेमिया परीक्षण र उपचार, रेडियोलोजी सेवा, क्षयरोग स्क्रिनिङ्ग, जेष्ठ नागरिक ओपीडी, स्वास्थ्य बीमा कार्यक्रम, पेन ओपीडी तथा मेडिकोलिगल र पोष्टमार्टम सेवाहरू सञ्चालनमा छन् । केही दिनअघि पहिलोपटक पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको थियो भने मृगौलाको डायलासिस सेवा शुरु गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

अस्पताल उद्घाटन कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू तथा स्वास्थ्य सेवासँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२० औं स्थापना दिवसको अवसरमा अछामी सेवा समाजको बृहत रक्तदान

१० श्रावण २०८२, शनिबार १४:२९
नेपालगञ्ज : अछामी सेवा समाज नेपालगञ्ज बाँकेको २० औं स्थापना दिवसको अवसरमा शनिबार बृहत रक्तदान गरिएको छ । अछामी सेवा समाज नेपालगञ्ज बाँकेको आयोजनामा भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रसको रक्तसञ्चार केन्द्रमा गरिएको रक्तदानबाट ६१ पिन्ट रगत संकलन गरिएको युवा समाजसेवी एवम् बिद्यार्थी नेता सन्तोष रावल (आर.एस) ले जानकारी दिए […]