
नेपालगञ्ज : नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विधान निर्माण गर्ने काममा पार्टीको नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिएका छन्।
ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा शुक्रबार सुरु भएको पोलिटव्युरो बैठकमा उनले अहिले पार्टीको मुख्य काम विधान महाधिवेशन र विधि निर्माण भएकोले रचनात्मक र सकारात्मक भूमिका खेल्न पार्टीपंतीलाई निर्देशन दिएका हुन् । अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारे आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले सरकार र पार्टी दुवैतर्फ सबैको सहयोग आवश्वक रहेको बताए ।
बैठकमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव शंकर पोखरेलको पार्टीको संगठनात्मक क्षेत्र बलियो बन्दै गइरहेको दाबी गरे । पार्टी संगठित सदस्य १५ प्रतिशतले बढेको बताउँदै उनले भने, -‘थप तथ्यांक आउने क्रम जारी छ । सवै तथ्यांक आएपछि सार्वजनिक गर्दछौ । पार्टी संगठित सदस्य बढेकोमा हामी उत्साही भएका छौ ।’

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि शुक्रबार सात जना लालबाबु पण्डित, डा.राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ्, शेरधन राई, खगराज अधिकारी र कर्णवहादुर थापाले धारणा राखेका छन् । शनिबार बाँकी पोलिटव्युरो सदस्यले धारणा राख्ने नेताहरुले बताएका छन् । बैठक शनिबार बिहान ११ बजेका लागि पुनः बोलाइएको छ ।
विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्याकाल व्यवस्था हटाउने राखिएको छ । पदाधिकारी सङ्ख्या १५ जनासहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने प्रस्ताव छ।
यस्तै विधान संशोधन प्रस्तावमा स्थायी कमिटी, पोलिटव्युरो कमिटी र केन्द्रीय कमिटी गरि तीन तह रहने व्यवस्था गरिएको छ । प्रस्तावमा पार्टीको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी मान्ने निर्णय गरिएको छ । यसअघि पदाधिकारीलाई सचिवालय सदस्यको रुपमा मानिएको थियो ।
बैठकले पार्टीमा सदस्य र सङ्गठित सदस्य गरी दुई खालका सदस्य हुने प्रस्ताव गरिएको उनले जानकारी दिए। जनसङ्गठनमा आवद्ध रहेका सदस्यलाई खारिदै आएपछि पार्टीले प्रशिक्षित गरेपछि मात्र सङ्गठित सदस्य रहने छन् ।


