कोहलपुरका अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण,

सदरलाइन संवाददाता २६ असार २०८२, बिहीबार १७:५१
 

कोहलपुर : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्रता दिएको बताएका छन् ।

भूमि समस्या समाधान आयोग बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको व्यवस्थापनमा बिहीवार बाँकेको कोहलपुरमा आयोजित अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले भूमिहीन र अव्यवस्थित वसोवासीका लागि लालपुर्जा वितरणलाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गरे ।

उनले भने,–‘संघीय सरकारले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित वसोवासीको हातमा जग्गाको लालपुर्जा पु¥याउने अठोटका साथ काम अघि बढाएको छ । यसमा प्रदेश सरकारको साथ र सहकार्य रहेको छ । भूमिको समस्या स्थायी रूपमा समाधान गर्दै भूमिहीन नागरिकलाई जग्गाको मालिक बनाउने वर्तमान सरकारको स्पष्ट चाहना हो । सोही अनुसार कामहरू अघि बढेका छन् ।’


मुख्यमन्त्री आचार्यले बर्षौंसम्म भूमि अधिकारबाट वञ्चित भएका नागरिकहरूलाई अधिकार दिलाउन सरकार निरन्तर क्रियाशील रहेको बताए । साथै, उनले अव्यवस्थित वसोवासीहरूले उठाएका समस्याहरू समाधान गर्न प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गर्दै आवश्यक पहल गरिरहेको जानकारी दिए ।

भूमिसँग जोडिएका सबैखाले समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर र संवेदनशील भएको उनको भनाइ थियो ।

सो अवसरमा कोहलपुर नगरपालिका वडा नं. १ का एक सय २२ जना अव्यवस्थित वसोवासीलाई मुख्यमन्त्री आचार्यले जग्गाधनी प्रमाण–पुर्जा वितरण गरे ।

भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नवनिर्मित अपरेशन थिएटर भवन उद्घाटन

२६ असार २०८२, बिहीबार १७:५१
नेपालगञ्ज :  नेपालगञ्जमा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पतालको नव निर्मित अपरेशन थिएटर भवनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका छन् । लुम्बिनी प्रदेश सरकारको सात करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त भवनको बिहीबार एक भव्य समारोहका बीच मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन । मुख्यमन्त्री आचार्यले प्रदेश […]