
काठमाडौँ : सार्क जर्नालिष्ट फोरम, आदीबासी पत्रकार महासंघसंगको सहकार्यमा नेवाः पत्रकार राष्ट्रिय दबुले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनबाट जारी भएको घोषणापत्र नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद सफिकुर रहमानलाई हस्तान्तरण गरेको छ ।
बङ्गलादेशी राजदूतावास, बसुन्धारामा सार्क जर्नलिस्ट फोरमका अध्यक्ष राजु लामा, नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले संयुक्तरुपमा राजदूत रहमानलाई सात बुँदे घोषणापत्र बुझाएका हुन ।
सो अवरमा सार्क जर्नालिष्ट फोरामको महासचिव बङ्गलादेशका मोहम्मद अब्दुल रहमान, बङ्गलादेशका सञ्चारकर्मी रफिकुल इस्लाम आजाद र नेवाः पत्रकार राष्ट्रिय दबुका सहसचिव प्रजित शाक्यको उपस्थिति थियो ।

सो अवसरमा सार्क जर्नालिष्ट फोरमका अध्यक्ष लामाले मातृभाषा आन्दोलनमा बङ्गलादेश विश्वमै अग्रणी स्थानमा रहेको हुनाले दक्षिण एसियाकै मातृभाषा पत्रकारिताको विकासका लागि बङ्गलादेशले नेतृत्व गर्नुपर्ने विचार व्यक्त गरे ।
यसैगरी दबुका अध्यक्ष श्रेष्ठले नेपालमा मातृभाषा पत्रकारहरूले गरिरहेको गतिविधिबारे प्रकाश पारेका थिए । दुईदिनसम्म सञ्चालन भएको सो सम्मेलनका विभन्न विषयका ७ वटा सामुुहिक छलफल चलाउदै ७ बुँदे घोषणा पत्र जारी गरिएको थियो ।
राजदूत रहमानले सार्क जर्नालिष्ट फोरम र नेवाः पत्रकार राष्ट्रिय दबुले राम्रो काम गरिरहेकोमा धन्यवाद दिदै मातृभाषा पत्रकारितामा बङ्गलादेशसँगको अपेक्षा स्वभाविक र सकारात्मक भएको धारणा राखे ।
नेवाः पत्रकार राष्ट्रिय दबुको आयोजना तथा सार्क जर्नालिस्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को सहकार्यमा शुक्रबार र शनिबार दुई दिने दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ को आयोजना भएको थियो । सो सम्मेलनमा करिब ५० विदेशी पत्रकार र करिब एक सय नेपाली पत्रकारको सहभागिता थियो ।


