नेपालगञ्ज : पुर्ब खेलाडी समाज बाँकेद्वारा नेपालगञ्ज रंगशालाको कबर्ड हलमा प्रथम नगरस्तरीय मेयरकप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको शुक्रबार नेपालगञ्जका मेयर प्रशान्त बिष्टले पानसमा दीप प्रज्ज्वलन गरि उद्घाटन गरेका हुन ।
प्रतियोगिताको उद्घाटन गर्दै मेयर बिष्टले नेपालगञ्जको खेल क्षेत्रको बिकासमा पालिका सधैं साथमा रहेको बताए । राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा नेपालको शिर उचो पार्ने माध्यम खेल नै भएको जिकीर गर्दै मेयर बिष्टले खेलकुदको बिकासमा गैर सरकारी र निजी क्षेत्रले पनि हातेमालो गर्नु पर्ने बताए ।
खेलाडी उत्पादन गर्ने प्रमुख थलो विद्यालय भएकोले विद्यालय स्तरबाटै खेलकुदमा लगानी लगाउन आफ्नो पालिकाले प्रयास गरिरहेको उनको भनाई थियो ।
समाजका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दीकीले खेलकुदमा योगदान दिएका पुर्ब खेलाडीलाई एकीकृत गर्दै खेलक्षेत्रको सम्बद्र्धन र बिकास गर्ने उद्देश्यले गतबर्ष पौषमा पुर्ब खेलाडी समाज बाँके गठन गरिएको जानकारी दिए ।


उनले आगामी दिनमा समाजले आफ्ना कार्यक्रम थप क्रियाशिल बनाउदै लैजाने प्रतिबद्धता समेत जनाए । प्रतियोगितामा ब्वाईज अण्डर–१५ ईभेन्टतर्फ ३७ जना र मेन्स डबल्सतर्फ ३२ वटा टीमको सहभागिता रहेको प्राबिधिक प्रमुख जयन्त कुमार श्रेष्ठले जानकारी दिए ।
उनले आज बेलुकासम्म क्वार्टर फाईनलका सम्पुर्ण खेलहरु सम्पन्न हुने तथा सेमिफाईनल र फाईनल खेल भोली हुने बताए । अण्डर–१५ तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः नगद १० हजार, ५ हजार र २५÷२५ सय प्राप्त गर्ने त्यसै गरि मेन्स डबल्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः नगद २० हजार, १० हजार र ५÷५ हजार प्राप्त गर्ने महासचिव जयन्त शर्माले जानकारी दिए ।
यसअघि समाजका उपाध्यक्ष शान्ती सिंहले स्वागत गरेको उद्घाटन समारोहमा सशस्त्र प्रहरी उपरीक्षक दिपक चन्द, क्षेत्रीय खेलकुद विकास समिति नेपालगञ्जका प्रमुख महेश चन्द, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, प्रथम नेपाली महिला ओलम्पियन पार्बती थापा, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव भीम रानाभाट, अग्रज खेलकर्मी लगायतको उपस्थिति रहेको थियो ।