चितवन : बुद्ध एयरको ७२ सिटे जहाजले विहीबार काठमाडौं–भरतपुर परीक्षण उडान गरेको छ । काठमाडौँबाट उँडेको एटिआर–७२ जहाज विहान ९ः३४ बजे भरतपुर विमानस्थलमा अवतरण भएको थियो ।
धावनमार्ग छोटो भएका कारण यहाँ बुद्धले ४७ सिटे (एटिआर ४२) जहाजबाट उडान गर्दै आएको थियो । बुद्ध एयरसँग ४२ सिटका जहाज २ वटा छन् । ती मध्ये एउटा सेप्टेम्बर पछि चलाउन मिल्दैन । त्यसपछि पनि उडानलाई नियमित बनाउन एटिआर–७२ को परीक्षण गरिएको हो ।
बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले साना जहाजमात्रै चलिरहेको अवस्थामा छिट्टै ठूलो जहाज पनि सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए । अनुमति प्राप्त गरेलगत्तै नियमित उडान सुरु गर्ने उनले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णले परीक्षण उडानसँगै अब एटिआर–७२ जहाजले यहाँ नियमित उडान गर्न सक्छ कि सक्दैन भनेर विश्लेषण गरिने बताए ।


‘आज जहाजले विमानस्थलको दुबैतर्फबाट ल्याण्ड र उडान गर्यो । आँखाले होर्दा त्यो सफल पनि देखियो। तर उडानको क्रममा दुई पाइलटका बीचमा भएका कुरा, इन्जिनले कस्तो काम गर्यो, ब्रेकिङ एक्सन कतिको लियोलगायतका सबै कुराको फ्लाइट डाटा रेकर्डको विश्लेषण गरेपछि बल्ल नियमित उडानको बारेमा निर्णय लिन सकिन्छ । आजको परीक्षण उडान प्राविधिकरुपमा सफल भयो कि भएन त्यसपछि नै भन्न सकिन्छ,’ उनले भने, ‘प्रकृया सकिन करिब एक महिना समय लाग्न सक्छ ।’
यो जहाजको क्षमता ७२ जना यात्रु बोक्नसक्ने भएपनि भरतपुर–काठमाडौं उडानको क्रममा कति यात्रु बोक्न सक्छ भन्ने कुरा त्यही समयको मौसमले निर्धारण गर्ने कर्णले बताए ।
उक्त जहाजका पाइलट क्याप्टेन प्रमोद थापाले काठमाडौं–भरतपुर उडान सहजरुपमा भएको जानकारी दिए । भरतपुर विमानस्थलको धावनमार्ग १२ सय मिटर लामो छ । विमानस्थलको बिस्तार गर्ने प्रयास लामो समयदेखि भइरहे पनि प्रकृया सुस्त भइरहेको छ ।
विहीबार परीक्षण उडान गरिएको जहाजले काठमाडौँबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौँ जाँदा ५० देखि ६० जना यात्रु बोक्नसक्ने अनुमान गरिएको बुद्ध एयरका भरतपुर स्टेशन म्यानेजर बस्नेतले बताए । श्रीएयरले पनि ८० सिट क्षमताको जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्दै आएको थियो । करिब १ महिनादेखि श्रीएयरको उडान हुन सकेको छैन ।