कोहलपुर (बाँके) : बाँकेका सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि नेपाल पत्रकार महासंघ बाँकेले कोहलपुर नगरपालिकासंगको सहकार्यमा आइतवारदेखि ३ दिने विट पत्रकारिता तथा पत्रकार आचारसंहिता विषयक तालिम सञ्चालनमा ल्याईएको छ ।
तालिमको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले उद्घाटन गर्दै पत्रकार महासंघसँगको संस्थागत सहकार्यका लागि कोहलपुर नगरपालिका प्रतिबद्ध रहेको बताए ।
उनले आग्रह र पूर्वाग्रहबाट सञ्चारकर्म नगर्न सुझाव दिदै भने–‘जनप्रतिनिधिहरुलाई खवरदारी गर्नु तपाईहरुको दायित्व हो । त्यो आवश्यक छ । तर आग्रह र पूर्वाग्रहबाट पत्रकारिता गर्नु भयो भने आफै पलायन हुने स्थिति आउन सक्छ । यसतर्फ ख्याल गर्न आग्रह गर्दछु ।’
उनले पत्रकारिता पेशालाई व्यवसायिक बनाउन आग्रह गरे । स्थानीय संचारकर्मीको प्रोत्साहनका लागि कोहलपुर नगरपालिका प्रतिवद्ध रहेको पनि बताए ।


कोहलपुर नगरपालिकाभित्र रहेका सञ्चारकर्मी र स्थानीय मिडियाको प्रोत्साहनका लागि सञ्चार नीति बनाउने अन्तिम तयारीमा पालिका रहेको पनि उनले बताए ।
नेपाल पत्रकार महासंघका लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइँले पछिल्लो समय विट पत्रकारिताप्रतिको आकर्षण बढ्दै गएको र पत्रकारितालाई व्यवसायिक बनाउन, पेशागत दक्षतामा विट पत्रकारिताको ठूलो सम्भावना रहेको पनि औल्याए ।
पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारितामा अनुशासन जरुरी रहेको बताए । कतिपय सवालमा पत्रकारहरुले आफ्नो सीमा रेखा पार गरेको अवस्थाले समस्या सिर्जना गर्ने गरेको भन्दै यो तालिमका माध्यमबाट पेशागत जीवनलाई सहज हुने विश्वास दिलाए ।
महासंघ बाँकेका सचिव कृष्ण ओलीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सहसचिव भगतराम थारुले गरेका थिए । तालिमको पहिलो दिन नेपाल पत्रकार महसंघका लुम्विनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइँले पत्रकार आचारसंहिता, कालपृष्ठ दैनिकका सम्पादक कमल खत्रीले खेलकुद विट र कान्तिपुरकर्मी रुपा गहतराजले मिडियामा महिला मुद्दाका सवालमा सहजीकरण गरेका छन् ।