नेपालगन्ज : बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्वारास्थित थारु होम रिसोर्टमा बिहीबारबाट सुरु भएको हरित फोटो र भिडियोग्राफी सम्बन्धी तीन दिने तालिम सकिएको छ । क्लवले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत सो तालिम सन्चालन गरिएको थियो।
सो तालिममा राजापुर र ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्ष उमेरका १० जना युवतीहरूले सहभागिता रहेको ग्रिन इकोनोमि परियोजनाका संयोजक राधेकृष्ण थारुले बताए। उनका अनुसार सो तालिमको मुख्य उदेश्य वातावरणीय दिगोपना, हरित अर्थतन्त्र र जलवायु परिवर्तनमा केन्द्रित उच्च गुणस्तरका तस्बिर र भिडियोहरू खिच्ने क्षमता बढाएर युवा महिलाहरूलाई सशक्त बनाउनु हो।


यसले उनीहरूलाई आफ्नो समुदाय भित्रका स्थानीय वातावरणीय मुद्दाहरू र हरित पहलहरूलाई दस्तावेजीकरण र उजागर गर्न आवश्यक सीपहरू प्रदान गर्ने लक्ष्य राखेको परियोजना संयोजक थारुले बताए। यसबाहेक, उक्त तालिमले वातावरणीय मामिलाहरूमा जागरूकता जगाउन र स्थानीय सरकारहरू र सरोकारवालाहरूलाई प्रभाव पार्न भिडियो र तस्विर मार्फत महिलाहरूलाई सक्षम बनाउने पनि बाँके युनेस्को क्लबले जनाएको छ।
तालिमको सहजीकरण पत्रकारद्वय रुद्रप्रसाद सुवेदी र लक्ष्मी तिमल्सेनाले गरेका थिए । क्लबका परियोजना संयोजक राधेकृष्ण थारु, फिल्ड सुपरभाइजरहरू संजिता रिजाल र कंचन दहितले तालिमको उचित र प्रभावकारी कार्यान्वयनमा सहयोग गरेको क्लबले जनाएको छ ।