नेपालगन्ज : बाँकेका १५५ जना मुस्लिम धर्मावलम्बीहरू साउदी अरब स्थित मक्का, मदिना हज गर्नका लागि काठमाडौं प्रस्थान गरेका छन । ७६ जना महिला र ७९ पुरुष सहित १५५ जना हज यात्रामा निस्किएका सो टोलीलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष मोहम्मद हारून हलवाईले फूल माला, खादा लगाई नेपालगन्जबाट बिदाई गरे ।
बिपि चोक स्थित ईदगाहमा जम्मा भएका हाजीहरुको टोलीलाई नेपालगन्ज नगर प्रमुख प्रशान्त बिष्ट, नगर उप प्रमुख कमरुद्दीन राई, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अतहर हुसैन फारूकी, जडीबुटी ब्यवसायी संघका उपाध्यक्ष हाजी शकील जरगर, रुबरु एफएमका प्रमुख शकील अहमद कादरी तथा विभिन्न संघ संस्थाका अगुवाहरु लगायत स्थानीयबासीहरुले बिदाई तथा शुभकामना अदान(प्रदान गरेका छन् ।


यस वर्ष हज जानकालागी देशभरबाट २ हजार भन्दा बढीले आवेदन दिएका थिए । जस मध्ये १ हजार १ सय ७१ जनाले हजमा जाने अनुमति पाएका छन् । उनीहरू ११ चरणमा मे१७ देखि २२ तारिखसम्म काठमाण्डौबाट सिधै साउदीको जेद्दातर्फ जानेछन् ।
यस्तै नेपालबाट गएका हजयात्रुहरू जुन २० देखि २५ सम्म स्वदेश फर्किने छन । प्रति ब्यक्ति ३ लाख ७० हजार रुपैयाँ हज खर्च तिर्नुपरेको हज समितिले जनाएको छ ।