नेपालगञ्ज : नेपालगञ्ज सुनचाँदी व्यवसायी संघ र लुम्बिनी प्रदेश सदस्य मो. हाशिम अन्सारीको संयुक्त आयोजनामा यो वर्ष साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने आफ्ना सदस्य हज यात्रीलाई एक कार्यक्रममा सम्मान गरी बिदाई गरेको छ ।
यो वर्षको हज यात्राका लागि हज गर्न जान लागेका नेपालगञ्ज सुनचाँदी व्यवसायी संघका अध्यक्ष सलाहुदिन जसगढ, सदस्यहरु अनिस जसगढ, जमिल अहमद जसगढ र मो. रहिस जसगढलाई संघको कार्यालयमा आयोजित संयुक्त कार्यक्रममा उनीहरुलाई सम्मान तथा बिदाई गरेको हो ।


उनीहरुलाई नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष बुद्धिबहादुर बिके, सदस्य सञ्जय सोनी, संघका सहकोषाध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य मो. हाशिमअन्सारी, सुनचाँदी कारिगर संघका पूर्व उपाध्यक्ष जमिल अहमद जसगढलगायत फूलमाला, खादा टोपी लगायर सम्मान गरी बिदाई गरेका थिए ।
ईस्लाम धर्ममा हज जीवनको महत्वपूर्ण धार्मिक यात्रा हो । हरेक वर्ष नेपालबाट साउदी अरबको मक्का मदिनामा हज गर्न नेपाली मुसलमान जाने गरेका छन । यो वर्षको हज यात्राका लागि जिल्ला प्रशासन कार्यालय बाँकेबाट हज यात्राका लागि ७६ जना महिला र ७९पुरुष सहित १५५ जना सहभागी भएको जनाईएको छ ।