कोहलपुर : राजनीतिमा आउनु रहर नभई राजनीतिक परिस्थिती भएको लुम्विनी प्रदेशसभा सदस्य सन्जु कुमारी थारुले बताएकी छन् । सोमवार क्रियाशिल पत्रकार महिला बाँकेले कोहलपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
‘सण्डे क्लब’ अन्र्तगत क्रियाशिल पत्रकार महिला बाँकेले गरेको कार्यक्रममा उनले भनिन्,–‘हामिले जति नै ठुला कुरा गरेपनि जबसम्म छोरीहरुलाई शिक्षा दिइदैन । तबसम्म उनिहरुले उचित स्थान हासिल गर्न सक्दैनन् । त्यसैगरी आर्थिक रुपमा सक्षम हुन सकेमा मात्र राजनीति लगायत नेतृत्व तहमा राम्रो स्थान हासिल गर्न सकिन्छ ।’
केलपुर नगरपालिकाको संस्थापक उप–प्रमुख हुँदा थारु समुदायमा हुने सिकलसेल थालेसिमिया रोग उपचारका लागि पहल, सामाजिक विकासका लागि बनाएका योजना कार्यान्वयन र पालिकाको विकासका लागि खेलेको भूमिकालाई स्मरण गर्दे, अहिले लुम्बिनी प्रदेशको सांसद भएर काम गरीरहँदा जनताका मुद्वामा प्रत्यक्ष सहभागी हुन पाएको अनुभव सुनाईन् ।


उनले युवा, महिला तथा बालबालिकाहरुको सवालमा सदैव आवाज उठाउने बताउदै यसपटक पनि लक्षित वर्गका कार्यक्रमहरुमा बजेट कार्यान्वयन गरेको जानकारी दिईन् । राजनीतिक यात्रमा घरपरिवारको राम्रो सहयोग पाएको उनले बताईन् । युवा नेतृ थारुले आगामी दिनमा अँझ ससक्त भएर जनसेवामा समर्पित हुने बताएकी छन् ।
क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा संस्थापक अध्यक्ष अक्षरी पोखरेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव सरला सुवेदी, सञ्चारिका समुह बाँकेका अध्यक्ष पवित्रा परियार र नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य कमला हमाल लगायतले बोलेका थिए । कार्यक्रममा नेपालगन्ज र कोहलपुर क्षेत्रका विभिन्न मिडियामा कार्यरत पत्रकार महिलाहरुको सहभागीता रहेको थियो ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ रझेनामा मध्यम वर्गिय परिवारमा जन्मिएकी सांसद चौधरीले व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी छन् । भने, अहिले एलएलवी अध्ययन गरीरहेकी छन् ।