नेपालगन्ज : सञ्चार तथा सूचना प्रवधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गोरखापत्र संस्थानलाई समयअनुसार आधुनिकीकरण गर्दै लैजानुपर्ने बताएका छन् । आइतबार साँझ कोहलपुरस्थित गोरखापत्रको प्रकाशन गृहको अवलोकन गर्दै मन्त्री गुरुङले समयको माग र प्रवधिकिो विकाससँगै गोरखापत्र संस्थानलाई पनि आधुनिकीकरण गर्न आवश्यक रहेको बताए ।
‘गोरखापत्र संस्थानलाई समयको माग र प्रविधिको विकाससँगै आधुनिकीकरण बनाउँदै लैजान जरुरी छ । पछिल्लो समय गोरखापत्र संस्थानबाट प्रकाशन हुने गोरखापत्र पत्रिका, गोरखापत्र अनलाइन तथा अन्य प्रकाशनप्रति आम नागरिकको विश्वास बढ्दै गएको छ,’– मन्त्री गुरुङले भने, ‘आम नागरिक प्रति विश्वासको वातावरण अझै बढाउँदै समयअनुसार परविर्तन र आधुनिकीकरण गर्दै जानुपर्छ ।’
धेरै लामो समयसम्म गोरखापत्र संस्थानका कर्मचारीहरुको आन्तरिक बढुवा लगायत जनशक्ति व्यवस्थापन हुन नसकेको भन्दै उनले भने,–‘करिव ७–८ वर्षदेखि कर्मचारीको आन्तरिक बढुवा तथा नयाँ कर्मचारीहरुको भर्ना हुन नसकेको रहेछ । कर्मचारीको बढुवा तथा जनशक्ति व्यवस्थापनका लागि अब म पहल गर्छु । गोरखापत्रसँग यत्रो सम्पत्ति छ । सम्पत्तिलाई चलाएमान बनाउन पनि जनशक्ति व्यवस्थापन गर्न जरुरी छ । आवश्यक नीति बनाएर काम गर्नेछु ।’
मन्त्री गुरुङले गोरखापत्र संस्थान कोहलपुरको सम्पत्ति हुँदाहुँदै पनि नेपाल टेलभिजिनको कार्यालयमा प्रशासनिक कार्यालय सञ्चालन भइरहेको भन्दै आफ्नै जग्गामा प्रशासनिक भवन बनाउनुपर्ने र त्यसका लागि आफूले पहल गर्ने बताए । मन्त्री गुरुङले गोरखापत्र संस्थान कोहलपुरको सम्पत्ति हुँदाहुँदै पनि नेपाल टेलिभिजनको कार्यालयमा प्रशासनिक कार्यालय सञ्चालन भइरहेको भन्दै आफ्नै जग्गामा प्रशासनिक भवन बनाउनुपर्ने र त्यसका लागि आफूले पहल गर्ने बताए ।


‘गोरखापत्र संस्थानले आफैँले कमाइ गर्नुपर्छ । सरकारको आशा गर्नु हुँदैन । गोरखापत्र आफैँले कमाउने हो । कोहलपुर प्रकाशन कार्यालयबाट सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका दुर्गम तथा पहाडी जिल्लाहरुमा पत्रिका छापेर पठाउने गरिरहेको छ । तीनवटा प्रदेश सरकार छन् । थुप्रै स्थानीय सरकार छन् । सरकारी कार्यालयहरु छन् । गोरखापत्र सबैको हो । यसलाई निरन्तर सञ्चालनका लागि सबैले गोरखापत्रमा विज्ञापन दिनुपर्छ ।’
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले मन्त्रीमा स्पष्ट भिजन भएको भन्दै यस कार्यकालमा गोरखापत्रले फड्को मार्ने विश्वास व्यक्त गरे ।
गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले कोहलपुर प्रकाशन गृहबाट देशभरमै सबैभन्दा बढी जिल्ला कभर गर्ने कार्यालय रहेको बताए । उनले कोहलपुरमा २०७६ बाट पत्रिका छपाइ सुरु गरिएको र २०७८ बाट आफ्नै मेसिनबाट छपाइ सुरु गरिएको बताए ।
उनले कोहलपुरमा गोरखापत्रको एक विघा जमिन रहेको भन्दै अब प्रशासनिक भवन पनि आफ्नै जमिनमा बनाउने योजना बनाइएको बताए । मन्त्री गुरुङले कोहलपुरमा रहेको नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्र, डाटा सेन्टर र गोरखापत्रको कोहलपुर प्रकाशन गृहको अवलोकन तथा भ्रमण गरेका थिए ।
त्यसक्रममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष, महाप्रवन्धक, योजना विभागका निमित्त प्रमुख भगीरथ बस्नेत, पश्चिम क्षेत्र प्रकाशन कार्यालय कोहलपुरका निमित्त प्रमुख मिरा शर्मा लगायतको सहभागिता थियो ।