मुख्यमन्त्री आचार्य र स्विस राजदूत बीच शिष्टाचार भेटवार्ता, सहकार्य विस्तारमा जोड

सदरलाइन संवाददाता २४ बैशाख २०८२, बुधबार १९:०५
 

 

दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्विजरल्याण्डका राजदूत डा. ड्यानिएल मेउलीबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा सम्पन्न भेटवार्तामा मुख्यमन्त्री आचार्यले संघीयताको सुदृढीकरण र विकासका लागि स्विस सरकार तथा साझेदार संघसंस्थाबीच अझ सघन सहकार्य आवश्यक रहेको बताए ।

प्रदेश सरकार आत्मनिर्भरताको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै उनले स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा अझै साझेदारीको खाँचो रहेको धारणा व्यक्त गरे ।

‘यहाँहरूको तर्फबाट अहिलेसम्म स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा गरिएको योगदानको सरकारले उच्च मूल्यांकन गर्छ । आगामी दिनमा पनि यी क्षेत्रले प्राथमिकता पाउनेछन् भन्नेमा हामी विश्वस्त छौं’– मुख्यमन्त्री आचार्यले भने–‘लुम्बिनी प्रदेश द्वन्द्वको समयमा राज्य र विद्रोही दुवै पक्षबाट पीडामा परेको क्षेत्र हो । यस प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम अघि बढाएकोमा म धन्यवाद व्यक्त गर्दछु । अहिले प्रदेश सरकारले मानसिक स्वास्थ्य रणनीतिक योजना बनाएर अघि बढेको अवस्था छ ।’


मुख्यमन्त्री आचार्यले प्रदेश सरकार आत्मनिर्भरतातर्फ अघि बढिरहेको सन्दर्भमा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सकहरूको व्यवस्था र निरन्तरताका लागि सहयोगको प्रस्ताव पनि गरे ।

स्विस राजदूत डा. मेउलीले स्विस सरकारले नेपालमा संघीय शासन व्यवस्थाको संस्थागत विकासका लागि प्रदेशको क्षमताविकासमा साझेदारी गर्दै आएको बताईन ।

सुरक्षित आप्रवासन, मानसिक स्वास्थ्य र प्राविधिक शिक्षामा प्राथमिकताका साथ साझेदारी जारी रहेको जानकारी दिँदै उनले आगामी दिनमा प्राविधिक शिक्षामा पहुँच बढाउँदै थप सहकार्य गर्न सकिने उल्लेख गरिन ।

‘प्राविधिक शिक्षा र बजारको तालमेल मिलाउन जरुरी छ । प्रदेश तहमा प्राविधिक शिक्षा ऐनको आवश्यकता महसुस गरिएको छ’– राजदूत मेउलीले भनिन–‘साना तथा मझौला व्यवसाय विकासका लागि पनि प्रदेश तहमा काम हुँदै आएको छ ।’

राजदूतसँगको उक्त भेटमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, लुम्बिनी प्रदेशका निमित्त प्रमुख सचिव ईश्वरराज पौडेल लगायत सहभागी थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा बासको भ्रष्टाचारबिरुद्ध शुद्धिकरण अभियान

२४ बैशाख २०८२, बुधबार १९:०५
नेपालगञ्ज :  बास  नेपालको  आयोजनामा  यातायात  व्यवस्था कार्यालय नेपालगञ्जमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यालयबाट प्रदान गर्ने सेवा, सुबिधाको प्रभावकारिताको माग गर्दै सो कार्यक्रम आयोजना गरिएको हो । बास नेपालका अभियन्ताहरुले बिहान ठिक १० बजेदेखि आधा घण्टासम्म साँकेतिक धर्ना दिएको सो कार्यक्रमको अन्तमा १३ बुंदे ज्ञापन पत्र बुझाईएको […]