मधुवन नगरपालिकाको शैक्षिक योजनामाथी छलफल

सदरलाइन संवाददाता २३ बैशाख २०८२, मंगलवार १९:२४
 

बर्दिया :  मधुवन नगरपालिकाको शैक्षिक योजना २०८२–२०९१ र शिक्षा नीति २०८१ को प्रस्तावित मस्यौदामाथि छलफल गरिएको छ ।

नगर प्रमुख तथा शिक्षा समिति संयोजक तेजबहादुर भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप–प्रमुख अनिता चौधरी, सम्पूर्ण वडा अध्यक्षहरू, शिक्षा विज्ञहरू, प्याब्सन प्रतिनिधि, शिक्षक संघ संगठन, विद्यालयका प्रधानाध्यापकहरू, तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम मधुवन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजना गरिएको थियो, जसमा प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र भेरी इन्भाइरोमेन्टल स्पेसियलिटी ग्रुप (बी–ग्रुप) को सहकार्य रहेको थियो ।


यो कार्यक्रम मधुवन नगरपालिकामा गठित कार्यदलको लामो छलफलबाट तयार गरिएको प्रस्तावित मस्यौदालाई थप व्यापक बनाउन आवश्यक सुझाव र बहसद्वारा अन्तिम रूप दिन केन्द्रित थियो ।

कार्यदलबाट उपलब्ध गराईएको प्रस्तावित मस्यौदा उपर कर्णाली प्रदेश शिक्षा समिति सदस्य जितबहादुर शाहद्वारा प्राविधिक सहयोग गर्दै प्रस्तुतीकरण गरिएको थियो । शिक्षा योजना र नीतिको अन्तिम उद्देश्य भनेको नगरभित्रको शिक्षा स्तर र सिकाइ उपलब्धिमा सुधार ल्याउनु, गरिब तथा सीमान्तकृत समुदायका बालबालिकालाई विद्यालयसम्म ल्याई उनीहरूको शिक्षाको आधारभूत अधिकार सुनिश्चित गर्नु, शिक्षक दरबन्दी समायोजन गर्नु र गुणस्तरीय शिक्षाको प्रवाह गर्नु हो ।

सहजकर्ताद्वारा प्रस्तुतीकरण मस्यौदालाई समूहगत रुपमा ब्यापक छलफल गर्नका लागि बाँके युनेस्को क्लवका उपनिर्दशक गोबन्द प्रसाद लामिछानेले र बि ग्रुपका शिक्षा प्राविधिक संयोजक लक्ष्मीप्रसाद शर्माले छलफलमा सहजता ल्याउन र सुझाव संकलनका लागि महत्त्वपूर्ण भुमिका रहेको नगर प्रवक्ता मेकबहादुर गुरुङले जानकारी दिए ।

थप सुझाव संकलन गर्न मस्यौदा नगरपालिकाको वेबसाइटमा अपलोड गरिने बतईएको छ । शिक्षा शाखा प्रमुख नारायणप्रसाद खनालका अनुसार प्राप्त भएका महत्वपूर्ण सुझावहरू समेटेर कार्यपालिका बैठकमा छलफल गरी अन्तिम नीति प्रकाशित गरिने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नव प्रवर्तनलाई प्राथमिकता दिदै विकास मोडेलमा परिवर्तन गरौंः मुख्यमन्त्री आचार्य

२३ बैशाख २०८२, मंगलवार १९:२४
दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास मोडेलमा परिवर्तन ल्याउनेगरी प्रदेश सरकारले नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको बताएका छन् । नव प्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहबाट प्रस्तावित परियोजना कार्यक्रम सम्बन्धी संक्षिप्त प्रस्तुतिकरण एवं पूर्ण प्रस्ताव लेखन सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई बुधबार लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विकास मोडेललाई […]