बर्दियाका ५० जना युवतीलाई व्यवसायमूलक तालिम दिईयो

सदरलाइन संवाददाता २३ बैशाख २०८२, मंगलवार १९:१३
 

 

बर्दिया : प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवतीहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सञ्चालन गरिएका विभिन्न सिप बिकास तालिमहरु सम्पन्न भएका छन् ।

क्बलले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत ठाकुरबाबामा सञ्चालन गरेको लोकल कुखुरा पालन तालिम र बिषादीरहित तरकारी खेती तालिम तथा राजापुरमा सञ्चालन गरेको बाँसको हस्तकलाको सामाग्री बनाउने तालिम र बिषादीरहित तरकारी खेती तालिम सम्पन्न भएको हो ।

दुबै पालिकामा ३ सय ९० घण्टासम्म सञ्चालन गरिएका तालिममा ५० जना युवतीहरुको सहभागिता रहेको जनाईएको छ । ठाकुरबाबा र राजापुर दुबै नगरपालिकामा बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर तालिमको समापन भएको थियोे ।

ठाकुरबाबामा आयोजना गरिएको तालिमको समापन समारोहमा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले स्थानीय युवतीहरुले व्यवसायिक तालिमबाट सिकेको सीप र ज्ञानलाई निरन्तरता दिदै त्यसबाट व्यवसाय शुरु गरेर आफ्नो आर्थिक अवस्था बलियो पार्नुपर्नेमा जोड दिए । उनले त्यसका लागि पालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

सो कार्यक्रममा ठाकुरबाबाका उपमेयर बिनाकुमारी भट्टराईले यस्ता तालिमले आर्थिक विकासमा ठुलो सहयोग गर्ने जनाउँदै तालिमको उपयोग गर्न सबैलाई आग्रह गरिन ।


सो अवसरमा वडा नम्बर २ का वडा अध्यक्ष कमल चपाइ र कृषि शाखाका विरेन्द्र रावतले पनि तालिमलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए । तालिमका सहभागिको तर्फबाट बोल्दै अरुणा थारु र अनिता थारुले तालिमबाट सिकेको ज्ञानलाई व्यवसायमा पसरवर्तन गर्ने अठोट गरिन ।

यसैगरी राजापुर नगरपालिकामा आयोजना गरिएको तालिमको समापन कार्यक्रममा राजापुर नगरपालिकाकी उपमेयर मनकलाकुमारी चौधरीले तालिमका सहभागिलाई प्रमाणपत्र बितरण गर्दै तालिमबाट सिकेको सीप र ज्ञानलाई सदुपयोग गर्न युवाहरुलाई प्रोत्साहित गरेकी थिईन । उनले व्यवसाय स्थापना गर्दा अरुलाई पनि रोजगारी दिन सक्ने बताउँदै राजापुर नगरपालिकाले व्यवसायको दिगो स्थापनामा हरेक प्रकारको सहयोग गर्ने प्रतिवद्धता जनाईन ।

कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष रमेश चौधरी, वडा नम्बर ६ का अध्यक्ष असराज न्यौपाने, वडा नम्बर ८ का वडा अध्यक्ष राज किरण चौधरी र वडा नम्बर ५ का वडा सदस्य थानदार चौधरीले पनि तालिमबाट सिकेको ज्ञानलाई आयआर्जनको माध्यम बनाउन अनुरोध गरेका थिए ।

सो अवसरमा तालिमका सहभागि मध्ये राम कुमारी चौधरी र सुभेक्षा चौधरीले बोल्दै तालिमलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाए ।

दुबै समापन कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी, उपाध्यक्ष पन्चम गुरुङ, सल्लाहकार सिराज खान, राष्ट्रिय मानस विकास प्रशिक्षण संस्थानका निर्देशक राकेश रोशन धमला, परियोजना संयोजक राधेकृष्ण थारु, फिल्ड सुपरभाइजरहरु कञ्चन दहित र सञ्जिता रिजाल लगायत विभिन्न शाखाका कर्मचारीहरुको पनि उपस्थिति रहेको तालिमका प्रशिक्षकहरुमा ओम प्रकाश थारु, बिकास थारु, सीता चौधरी र सरिता चौधरी रहेक थिए ।

तालिमको मुख्य उदेश्य जोखिममा परेका युवतीहरूको सशक्तिकरण गर्ने र हरित व्यापार र लघु उद्यमहरूमार्फत रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधनको उपयोग र बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट वातावरण संरक्षण गर्ने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मधुवन नगरपालिकाको शैक्षिक योजनामाथी छलफल

२३ बैशाख २०८२, मंगलवार १९:१३
बर्दिया :  मधुवन नगरपालिकाको शैक्षिक योजना २०८२–२०९१ र शिक्षा नीति २०८१ को प्रस्तावित मस्यौदामाथि छलफल गरिएको छ । नगर प्रमुख तथा शिक्षा समिति संयोजक तेजबहादुर भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप–प्रमुख अनिता चौधरी, सम्पूर्ण वडा अध्यक्षहरू, शिक्षा विज्ञहरू, प्याब्सन प्रतिनिधि, शिक्षक संघ संगठन, विद्यालयका प्रधानाध्यापकहरू, तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थिति […]