विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवस २०८२ लाई भव्य रुपमा मनाउन निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज गणतन्त्र दिवस मनाउने तयारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसलाई सबैले अपनत्व हुने गरी मनाउनु पर्ने बताएका हुन ।
उनले भने,–‘दिवसलाई दिवसका रुपमा मात्र होइन यसलाई सबैले अपनत्व गरी मनाउनु पर्छ र गणतन्त्रलाई बलियो र संस्थागत बनाउनका लागि यो दिवस भव्य रुपमा मनाऔ ।’


सोमबार बसेको बैठकले आगामी जेठ १४, १५ र १६ दिवसमा भव्य रुपमा मनाउने निर्णय गरेको हो । मुख्यमन्त्री कार्कीले गणतन्त्र प्राप्त भएपछिको उपलब्धिलाई आमनागरिकमा जानकारी गराउने र यो व्यवस्थाप्रतिको भरोसा जगाउन पनि दिवसलाई भव्य रुपमा मनाउनु पर्ने बताए ।
मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यक्ता र उपलव्धी सम्वन्धमा अन्तरक्रिया र कार्यक्रमको आयोजना गर्न निर्देशन दिएका हुन ।
प्रदेश सरकारले आगामी गणतन्त्र दिवस १४,१५ र १६ गते तीन भव्यरुपमा मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।