नेपालगञ्ज : नेकपा एमाले महासचिव शंकर पोखरेलले मुलुकलाई स्थायित्व दिनको लागि एमाले–काँग्रेसको सरकार बनेको बताएका छन् । एमाले निकट नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौ राष्ट्रिय महाधिवेशनको नेपालगञ्जमा उद्घाटन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन ।
उनले राजनीतिक स्थायीत्व बिना मुलुकमा विकास संभव नभएको कुरामा जोड दिदै एमालेले मुलुकमा विकास र स्थायित्वको लागि मिसन–८४ घोषणा गरेको कुरामा जोड दिए । उनले एमालेले मुस्लिम समुदायको हितमा काम गर्दै आएको र आगामी दिनमा पनि समुदायको साथमा रहने बताए ।
सोही कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको सरकारी सेवामा प्रवेशकालागि प्रदेश सरकारले अवसर सुनिश्चित गरेको बताए । उनले उपलब्ध अवसरहरूको सदुपयोगमा ध्यान दिन आग्रह गरे ।
प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐनमा मुस्लिम समुदायको ७ प्रतिशत आरक्षण सुनिश्चित गरेको उल्लेख गर्दै उनले ती अवसरहरूको पूर्ण सदुपयोगका लागि अपिल गर्नु भएको छ । ‘मुस्लिम समुदायको सरकारी सेवामा प्रवेशका लागि अधिकारको सुनिश्चितता गरेका छौँ । प्रदेश सरकारले लोक सेवामा ७ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ’–उनले भने–‘यो अवसर सदुपयोगका लागि शिक्षामा ध्यान दिन जरुरी छ । छोरा छोरीलाई बराबरी अवसर दिन जरुरी छ । यसका लागि परिवारबाट नै सुधार गर्न जरुरी छ ।’


मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले मदरसा शिक्षामा सुधार ल्याउनका लागि लगानी गरेको र महिलाहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिएको जानकारी दिँदै अझै पनि छोरीहरूले पढाइमा समान अवसर नपाउनु चिन्ताको विषय भएको बताए । ‘प्रदेश सरकारले शिक्षामा पहुँच बढाउन मदरसाहरूको सुधारमा लगानी गरेको छ । महिलाहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिएको छ’– उनले भने–‘छोरीहरूलाई विद्यालय पठाउन जरुरी छ । छोरा छोरीलाई बराबरी महत्व दिएर शिक्षामा अवसर दिनुपर्छ ।’
लुम्बिनी प्रदेशमा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषणको दर उच्च रहेको र यी समस्या मुस्लिम तथा पिछडिएको समुदायमा बढी देखिएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सुधारका लागि सरकारले थालनी गरेका अभियानहरूमा सहभागिताको आह्वान गरे । ‘के कारणले यस्तो अवस्था आयो, कारण बुझ्न जरुरी छ’–उनले भने–‘बाल विवाहलाई निरुत्साहित गर्न जरुरी छ । यसमा मुस्लिम समुदायका नेतृत्व बढी जिम्मेवार भएर ध्यान दिन जरुरी छ ।’
संगठनका केन्द्रीय अध्यक्ष सिराज फारुकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले लुम्बिनी ईन्चार्ज पद्मा अर्याल, मोर्चा संगठन विभागका भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु शान्ति ढकाल, मो हारुन, पशुपति दयाल मिश्र, प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल, सदस्य अब्दुल करिम खान, सफिक नद्दाफलगायतले शुभकामना व्यक्त गरेका थिए ।
आइतबारसम्म सञ्चालन हुने र देशभरका ४८ जिल्लाका करिव ४ सय ५० प्रतिनिधि सहभागी सो महाधिवेशनले नया नेतृत्व समेत चयन गर्ने छ ।