गुलरिया (बर्दिया) : किशोरीहरूको नेतृत्वमा सञ्चालित जनचेतनामूलक अभियानले बर्दियाका गुलरिया, मधुवन, र बढैयाताल नगरपालिका क्षेत्रमा बाल विवाहको दरमा उल्लेखनीय कमी ल्याएको पाईएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबको आयोजनामा र सहकार्यमा सञ्चालित ‘गल्र्स स्ट्यान्डिङ स्ट्रङ’ परियोजना अन्तर्गत १४ वटा युवा क्लबहरू सक्रिय रूपमा अभियानमा संलग्न भएका छन् । ती क्लबहरूले सडक नाटक, घरदैलो भ्रमण, र अभिभावकहरूसँग अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेर बाल विवाहविरुद्ध सशक्त आवाज उठाएका कारण बालविवाहमा कमी आएको हो ।


यी प्रयासहरूले समुदायमा चेतनाको लहर ल्याएका छन् । अहिले धेरै अभिभावकहरूले बालविवाह नगर्ने, छोराछोरीको शिक्षामा साथ दिने, र शिक्षकहरूसँग समन्वय गरी बालबालिकाको शैक्षिक प्रगतिमा चासो देखाउने प्रतिबद्धता जनाएका छन् ।
स्थानीय सरकारहरू बाल विवाहमुक्त वडा घोषणा गर्न आवश्यक फलोअप गतिविधिहरूको तयारीमा जुटेका छन् । परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेका अनुसार, किशोरीहरू र अभिभावकहरूसँग निरन्तर संवाद र प्रेरणाले आगामी दिनहरूमा अझ सकारात्मक परिणाम ल्याउने बाटो खोलिरहेको छ ।