कुखुरा विकास फर्म खजुराबाट उत्पादित स्थानीय प्रजातिका चल्ला विक्रि बितरण सुरु

रुद्र सुवेदी २५ माघ २०८१, शुक्रबार १८:०१
 

 

नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारको पूर्ण स्वामित्वमा रहेको बाँकेको खजुराको कुखुरा विकास फर्मले स्थानीय प्रजातिको कुखुराको अनुसंधान, उत्पादनसंगै बजारिकरण सुरु गरेको छ ।

सो फर्मबाट स्थानीय प्रजातिका चल्ला उत्पादन, अणुवांशिक स्रोत संरक्षण, नविनतम जातका पंछिहरुको अनुसंधान र व्यवसायिक कृषकलाई प्राविधिक सेवा दिदै आएको छ । फर्मबाट उत्पादित चल्ला न्यूनतम मूल्यको हुने र किसानलाई अधिकतम फाईदा हुने भएकोले अहिले कुखुरा विकास फर्म कुखुरा पालक किसानका लागि आकर्षणको केन्द्र बनेको छ ।

लुम्बिनी प्रदेश सरकारको सञ्चालनमा रहेको बाँकेको खजुराको कुखुरा विकास फर्मले स्थानीय प्रजातिको कुखुराको अनुसंधान, उत्पादनसंगै बजारिकरण सुरु गरेसंगै आफु जस्ता कुखुरा पालक किसानमा हौसला थपिएको बाँके डुडुवा– ३ का कुखुरा पालक किसान तथा फातिमा पोल्ट्रि फर्मका सञ्चालक नफिस अहमद खाँन बताउछन् ।

उनले भने–‘ सस्तो मूल्यमा स्थानीय प्रजातिको चल्ला पाईनुको साथै बोईलर तथा कोईलर भन्दा कम मृत्युदर र विक्रि गर्दा उच्च बिक्रिदर रहेकोले हाम्रो रोजाईमा कुखुरा विकास फर्मका चल्ला परेका छन् ।’ उनले बोईलर कुुुखुरा पाल्दै आएको र बोईलरको मृत्युदर अधिक तथा मूल्य पनि अस्थिर हुने भएकोले बोईलर भन्द लोकल स्थानीय जातकै चल्ला पाल्न सहज भएको बताए ।

बाँके खजुरा–२ गौघाटका अर्का किसान लालबहादुर बस्नेत व्यवसायिक कुखुरा पालक किसान हुन उनले बजारमा अधिक माग हुने स्थानीय प्रजातिका कुखुराका चल्ला कुखुरा विकास फार्म खजुराबाट लिएर पाल्न सुरु गरेको बताए ।

उनले किसानको लागि मृत्युदर कम भएको तथा स्थानीय हावापानीमा सजिलै हुकर्ने भएकोले पनि कुखुरा विकास फर्म खजुराबाट उत्पादिन स्थानीय प्रजातिका चल्ला आफुहरुको रोजाईमा परेको बताए । उनले नियमित रुपमा फर्मबाट चल्ला उत्पादन गरी किसानलाई उपलब्ध गराउन माग पनि गरे ।

उनले भने–‘ अन्य कुखुराको तुलनामा यसबाट फाईदा हुने गरेको छ । यसको मूल्य पनि पाईन्छ । बोईलर कुखुराको बिक्रि मूल्य तलमाथि हुने र जोगाउन अत्यन्तै कठिन हुने भएकोले स्थानीय जातको कुखुरा पालनमा रुची बढेको हो ।’ खान र बस्नेत त किसानका प्रतिनिधि पात्र मात्र हुन । स्थानीय जातका कुखुराको व्यवसायिक पालन उनीहरु जस्ता थुप्रै किसानको रोजाईको व्यवसाय बनेको छ ।

कुखुरा विकास फर्मबाट स्थानीय कुखुराको चल्ला उत्पादन, अणुवांशिक स्रोत संरक्षण, नविनतम जातका पंछिहरु जस्तै कालिज, बट्टाईको अनुसंधान र कृषकलाई प्राविधिक सेवा प्रवाह गर्ने गरेको र्फमका प्रबन्धक डा. सुमन खनालले जानकारी दिए । उनले फर्मले स्थानीय रैथाने जातिको संरक्षण गरी उत्पादन भएका चल्ला किसानसम्म पुराउने लक्ष अनुरुप ७ जातका घाँटीखुईले, उल्टे, साकिनी, खजुरा साकिने, कडकनाथ, ब्ल्याक अस्टलोप र न्यू हेम्पसार जातिका कुखुरा र रिङ्गनेक कालिजको संरक्षण गरी चल्ला उत्पादन हुँदै आएको बताए ।


उनले भने–‘ लुम्बिनी प्रदेश सरकारको लगानीमा सञ्चालनमा रहेको स्थानीय जातको कुखुराको संरक्षण गरी वितरणको व्यवस्था मिलाउन स्थापना भएको कुखुरा विकास फर्म खजुराले फर्ममा विभिन्न ७ स्थानीय प्रजातिका कुखुराको चल्ला उत्पादन गरी हेरक हप्ताको सोमबार एकदिने चल्ला प्रतिगोटा रु ४५ मा सिधै फर्मबाट र हुर्काएका चल्ला ४ हप्तादेखि ८ हप्तासम्मका सुचिकृत भएका ब्रुडर किसानबाट प्रदेश सरकारले तोकेको मुल्यमा उपलब्ध गराउदै आएको छ ।’

उनले फर्मले रिङ्गनेक कालिजको चल्ला समेत उत्पादन गरी चल्ला विक्रि वितरणको व्यवस्था मिलाएको बताए । व्यवसायिक कुखुरा पालक किसानको लागि फर्मबाट उत्पादित चल्ला स्वस्थकर भएकोले विभिन्न रोगको संक्रमण झट्टै नहुने, मूल्य सस्तो, र उत्पादनमा पनि कम लागत हुने भएकोले किसानको रोजाई बनेको दावी गरे ।

उनले फर्मले अघिल्लो आर्थिक वर्षमा १ लाख ५० हजार चल्ला उत्पादन गर्ने लक्ष लिएको भए पनि १ लाख ८१ हजार ९ सय ६६ विभिन्न ७ प्रजातिका चल्ला उत्पादन गरी किसानलाई उपलब्ध गराएको जानकारी दिए । 

उनले फर्मले अघिल्लो आर्थिक वर्षमा १ लाख ५० हजार चल्ला उत्पादन गर्ने लक्ष लिएको भए पनि १ लाख ८१ हजार ९ सय ६६ विभिन्न ७ प्रजातिका चल्ला उत्पादन गरी किसानलाई उपलब्ध गराएको जानकारी दिए । उनले यो आर्थिक वर्षको माघ २१ गतेसम्म ७० हजार चल्ला उत्पादन गरि सकेको बताए ।

यसैगरी फर्मले माघ २१ गतेसम्म अण्डा १ लाख १८ हजार ९ सय २८ वटा उत्पादन गरि सकेको जनाएको छ । गत वर्ष २ लाख ९० हजार १ सय ८१ अण्डा उत्पादन गरेको थियो । फर्म प्रबन्धक डा. खनालका अनुसार फर्मबाट उत्पादिन अण्डा ग्रडिङ्ग गरी चल्ला उत्पादनमा पठाउने र चल्ला उत्पादन हुन नसक्नेलाई प्रतिगोटा ९ का दरले विक्रि गर्ने गरिएको छ ।

उनले भने–‘फर्मबाट दैनिक उत्पादन हुने अण्डा, एकदिने चल्ला, केही प्यारेन्ट कुखुरा र कुखुराको मल, बोरालगायतको विक्रि बितरणबाट फर्मको आम्दानी हुने गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३३ लाख ३९ हजार ४ सय १३ रुपैया आमदानी गर्न सफल भएको छ , जबकी अघिल्लो आर्थिक वर्षमा फर्मले १ करोड ७ लाख २ हजार १ सय ९ रुपैया आम्दनी गर्न सफल भएको थियो ।’

फर्मका सूचना अधिकारी कमल चन्दले कुखुरा विकास फर्म खजुराबाट उत्पादन हुने चल्ला एक दिने फर्मबाट ४५ रुपैयामा र ४ हुर्केको चल्लाहरु ४ हप्तादेखि माथिको समय अनुसार प्रदेश सरकारले तोकेको मूल्यमा विक्रि बितरण गरिदै आएको जानकारी दिए ।

‘फर्मबाट हरेक साताको सोमबार चल्ला निकाल्ने गरिएको छ । कुखुरा विकास फर्म खजुरा मै उत्पादित अण्डाबाट निकालिएको एक दिनका चल्ला सिधै फर्मबाट र हुर्किएका चल्ला ब्रुडर किसान मार्फत बिक्रि बितरणको व्यवस्था मिलाइएको छ’–उनले भने ।

लुम्बिनी प्रदेश सरकारको पूर्ण स्वामित्वमा रहेको देशकै एक मात्र कुखुरा विकास फर्म खजुराबाट लोकल र स्थानीय जातका कुखुराको व्यवसायिक उत्पादन तथा संरक्षणमा समेत ठूलो योगदान पुराउदै आएको छ ।

      

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश सभामा बिशेष सम्वोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा

२५ माघ २०८१, शुक्रबार १८:०१
दाङ :  लुम्बिनी प्रदेश सभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश सभा बैठकमा बिशेष सम्वोधनका लागि निमन्त्रणा गरेको छ । फागुन ५ गते सोमवार बस्ने प्रदेश सभाको बैठकमा बिशेष सम्वोधनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको हो । प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई […]