नेपालगञ्ज : नेपालगञ्जमा छाडा तथा सामुदायिक कुकुरको टोकाईबाट हुनसक्ने रेबिजबाट जोगाउने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिकाको पसु स्वास्थ्य सेवा शाखाले नगरभरीका छाडा तथा सामुदायिक कुकुरलाई एटिरेविज भ्याक्सिन लगाउने शिविर सञ्चालन गरेको छ ।
दैनिक जसो छाडा तथा सामुदायिक कुकुरले टोकेको जनगुनासो आउन थालेपछि नेपालगञ्ज उपमहानगरपालिकाले नगरभरीका सामुदायिक कुकुरलाई एटिरेविज भ्याक्सिन लगाउने शिविर सञ्चालन गरेको उपमहानगरको आर्थिक विकास समितिका संयोजक तथा नेपालगञ्ज–४ का वडा अध्यक्ष गोपाल पुनले जानकारी दिए ।
उनले भने–‘ दैनिक जसो नगरमा सामुदायिक तथा छाडा कुकुरले मानव र चौपायलाई टोकेको जनगुनासो आउन थाले पछि उपमहानगरको आर्थिक विकास समिति अन्तरगतको पशु सेवा शाखाको आयोजनामा एकदिन सामुदायिक कुकुरमा रेविज बिरुद्धकाको भ्याक्सिन लगाउन सुरु गरिएको हो ।’
नेपालगञ्ज उपमहानगर पसु स्वास्थ्य शाखाका पसु चिकित्सक डा. आशिस थारुले नगरमा सामुदायिक कुकुरको टोकाईका कारण मानिस तथा पसुचौपायमा रेविजको संक्रमण बढ्ने जनगुनासो आएपछि शाखाले सामुदायिक कुकुरलाई रेविज बिरुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको बताए ।


उनले उपमहानगरमा सामुदायिक कुकुरको जनसंख्या समेत नियन्त्रण गर्नका लागि शाखाले छाडा तथा सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने, ती कुकुरबाट रेबिजको संक्रमण हुन नदिनको लागि एन्टिरेविज भ्याक्सिन दिन सुरु गरिएको जानकारी दिए ।
उसो त नेपालगञ्जको भेरी अस्पतालमा दैनिक सरदर २५–३० जना कुकुरले टोकेर रेविज बिरुद्धको खोपको लागि मानिसहरु अस्पताल आउने गरेको अस्पतालका प्रमुख मेसु डा निराजन सुवेदीले जानकारी दिए । रेविज बिरुद्धको खोप समेत अस्पतालमा अभाव हुने अवस्था रहेको उनले बताए ।
शहरमा सामाुदायिक कुकुरको विगविगी भएपछि उपमहानगरको पसु स्वास्थ्य शाखाले उपमहानगर भरीका ३ सय सामुदायिक कुकुरलाई रेविज बिरुद्धको खोप दिने अभियान सुरु गरेको हो । पालिकाको पसु स्वास्थ्य प्रविधिक टोली भ्याक्सिन लिएर सामुदायिक कुकुरको खोजी गर्दै टोल–टोलमा पुगेर क्याक्सिन लगाएको शाखा प्रमुख लक्ष्मि शाहीले जानकारी दिईन ।