दाङ : लुम्बिनी प्रदेशको कामकाज र सेवालाई सुशासन, जवाफदेही र पारदर्शी बनाउदै सहज सूचना प्रवाह गर्नुपर्नेमा जोड दिइएको छ । बागेश्वरी असलशासान युवा क्लवले बिहिवार भालुबाङमा आयोजना गरेको सञ्चार पहुँच र संलग्नता कार्यक्रममा सरकारले सूचना प्रवाहलाई सहज बनाउदै त्यसका लागि आम सञ्चारका माध्यमहरुसंगको सहकार्य बढाउनु पर्नेमा जोड दिइएको हो ।
लुम्बिनीका प्रमुख सचिव बावुराम अधिकारीसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा सूचना अधिकारी, अन्य मन्त्रालयका सचिव तथा सूचना अधिकारीहरुको बिशेष उपस्थितीमा कार्यक्रम गरिएको थियो ।
सो अवसरमा राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त कृष्णहरी बास्कोटाले सेवाको बजारीकरणको योजना बनाएर आम सञ्चारका माध्यमसंग नियमित सहकार्य गर्नुपर्नेमा जोड दिए ।
सार्वजनिक सेवा प्रवाहलाई समय सापेक्ष, चुस्त दुरुस्त, प्रभावकारी तुल्याउन आवश्यक रहेको बताउदै उनले आम नागरिक समक्ष सूचना प्रवाहका लागि रणनीतिक योजना निर्माण गरेर कार्यान्वयन गर्न सुझाव दिए । उनले विज्ञापनको युगको बारेमा चर्चा गर्दै आफुले गर्दै आएको दैनिक कामहरुका बारेमा जानकारी गराउदै चर्चा बटुल्न सकिने कुरामा जोड दिए । उनले भने–‘ आफुले गरेको सूचना दिनुस आफ्नै चर्चा कमाउनुस । यसले तपाईको कार्यसम्पादनमा समेत मूल्याङ्कन गर्न सहज हुने छ ।’


लुम्बिनी प्रदेशका प्रमुख सचिव बावुराम अधिकारीले सूचनाको हक कार्यान्वयनसंगै प्रदेश सरकारले सम्पादन गरेका महत्वपूर्ण कामलाई बाहिर ल्याउने गरी योजना निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले अनिवार्य उपलब्ध गराउने सुचनाको समय कुर्नु भन्दा सम्पादन हुने वित्तिकै वेभ साईटमा राख्ने र सबैको जानकारीको लागि विभिन्न माध्यामको प्रयोग गरी सूचना उपलब्ध गराउन निदेशन समेत दिए ।
उनले भने–‘ आफुले गरेको कामको बारेमा सूचना माग्न आउनेलाई सूचना दिनुस । तर, केही केहीले भने कर्मचारीलाई दुख दिने उद्देश्यले सूचना माग्ने हुँदा कर्मचारीको पनि मनोबल घटेको पाईएको छ ।’ उनले आफुले भर्खरै कार्यभार सम्हालेको उल्लेख गर्दै बास नेपालको सञ्चार पहुँच र संलग्नता कार्यक्रमबाट प्रदेशको प्रचार प्रसारमा ठूलो मद्दत पुग्ने बताए ।
बास नेपालका अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममाथि प्रकाश कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए । बासका पूर्व अध्यक्ष मन भण्डारीको सहजिकरणमा सम्पन्न कार्यक्रममा मन्त्रालयका सचिव तथा सूचना अधिकारीहरु, द एसिया फाउण्डेसनका महेन्द्र घिमिरे निवर्तमान अध्यक्ष रमेश सिटौला लगायतले आ–आफ्ना धारणा राखेका थिए ।