घोराही (दाङ्ग) : दाङ्गमा लामो समयदेखि अलपत्र रहेको घोराही–तुलसीपुर सडकखण्डको चार लेन विस्तारको काममा देखिएको अन्योैलता अन्त्य भएको छ ।
अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेसँगै सडक विस्तारको काम नेपाल सरकारकै लागतमा हुने निश्चित भएको हो । यसअघि भारतीय एक्जिम बैंकको लगानीमा निर्माण हुन थालेको सो सडक ठेकेदार कम्पनीको लापरवाहीका कारण लामो समयसम्म अलपत्र परेको थियो ।
सरकारले यसअघि नै उक्त ठेक्का सम्झौता तोडिसकेको थियो । अर्थ मन्त्रालयले मंगलबार राष्ट्रिय योजना आयोगलाई पत्र लेखी घोराही–तुलसीपुर सडक खण्ड चार लेन विस्तारका लागि बजेट सुनिश्चित भएको जानकारी गराएको छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत ३ अर्ब ९९ करोड ४९ लाख रुपैयाँको बहुवर्षीय ठेक्काको स्रोत सहमतिका लागि राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालय समक्ष पत्र पठाएको थियो ।
अर्थ मन्त्रालयले सोही बजेटमा आधारित रहेर बहुवर्षीय योजना अन्तर्गत घोराही तुलसीपुर सडक खण्ड विस्तारका लागि सहमति प्रदान गरेको छ । सो सडक खण्डको २१ दशमलब ५८ किमी क्षेत्रमा काम हुनेछ ।
लामो समयसम्म सडक विस्तार अलपत्र परेपछि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री कार्यालय तथा अर्थमन्त्रालयमा निरन्तर बजेट सुनिश्चितताका लागि पहल गरिरहेका थिए ।
‘अब तत्काल ठेक्का प्रक्रिया शुरु भएर चारलेन विस्तारको काम हुनेछ’– महासचिव पोखरेलले भने–‘लामो समयसम्म दाङबासीले दुःख पाउनुपर्यो, अब समयमै काम सम्पन्न गर्ने गरी काम गर्नुपर्छ ।’ अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई लेखेको पत्र पनि यसैसाथ रहेको छ ।