सहकारी ठगी रोक्ने उद्देश्यले एक महिनाभित्र दोहोरो पद छोड्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

सदरलाइन संवाददाता २० असार २०८१, बुधबार १८:४८
 

काठमाडौ : सरकारले सहकारीको बढ्दो ठगीलाई नियन्त्रण गर्ने उदेश्यले एक महिना भित्र धेरै सहकारीको सञ्चालकमा बसेका व्यक्तिलाई एक सहकारीमा मात्र बस्न निर्देशन दिएको छ ।

सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरे पछि एक महिनाको समय भित्र एउटा मात्र सहकारी रोज्नु पर्ने व्यवस्था गरिएको हो । विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो ।


सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले जानकारी दिए । सहकारी बैंकको हकमा पनि पनि यस्तै निर्देशन दिइएको छ ।

यो निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन गरिने र यदि कार्यान्वयन नभएको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि विभागले जनाएको छ । विभागले आजै सहकारी संस्थाका ऋणीहरुको कर्जा तीन महिनाका लागि पुनर्तालिकीकरण गर्न परिपत्र पनि गरेको छ ।

‘परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी ऋणी सदस्यलाई परेको प्रभाव मूल्याङ्कन गरी सदस्यको माग, आवश्यकता र औचित्यका आधारमा गत वर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघि यस्तो सुविधा नलिएका ऋणीहरुको हकमा मात्र कर्जा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गरेमा बाँकी साँवालाई तीन महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिनेछ’, विभागको परिपत्रमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसद्वारा एमालेसँग भएको सहमतिको स्वागत र समर्थन

२० असार २०८१, बुधबार १८:४८
काठमाडौ :  नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग यही असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धमा गरेको सहमतिको स्वागत एवं समर्थन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले दुई दलबीच राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास–निर्माणको अभियानलाई तीव्रता दिन, राजनीतिक स्थायित्व कायम गर्नका […]