आगामी आर्थिक वर्षका लागि नेपालगञ्जको बजेट करिव डेढ अर्व

सदरलाइन संवाददाता ११ असार २०८१, सोमबार १७:४०
 

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिकाले १५ औ नगरसभामा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि १ अर्ब ५० करोड बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

आइताबारदेखि सुरु भएको नेपालगञ्ज उपमहानगरपालिका नगर सभाको १५औं अधिवेशनमा सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले १ अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गरेका हुन । यो चालू आर्थिक वर्ष भन्दा करीब ३५ करोड घटी हो ।

आगामी आर्थिक वर्षमा २३ वटै वडाहरुका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रस्तावित बजेटमा आम्दानीतर्फ सशर्त अनुदान (संघ) तर्फ ६१ करोड २४ लाख ७७ हजार रुपैयाँ, समपूरक अनुदान (संघ) १ करोड, विशेष अनुदान (संघ) १ करोड ५० लाख, सशर्त अनुदान (प्रदेश) २ करोड ४ लाख, समपूरक अनुदान (प्रदेश) १ करोड ४० लाख, वित्तीय समानिकरण (संघ) २७ करोड ९५ लाख, वित्तीय समानिकरण (प्रदेश) २ करोड ५ लाख तथा आन्तरिक आयतर्फ २० करोड ११ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य छ ।

नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सुरु भएको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । नगर प्रमुख विष्टले ‘समृद्ध सहर, नगरवासीको रहर’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकालाई स्वास्थ्य प्रवर्द्धनात्मक सहरको रुपमा रुपान्तरण गर्दै लैजाने, घरघरमा दक्ष जनशक्ति खटाई निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्थापन गर्ने, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क मोतिविन्दुको अपरेसन कार्यक्रमको निरन्तरता, अपांगता भएकाहरुको स्वास्थ्य बीमा, विद्यालयहरुमा सूचना प्रविधिमैत्री शिक्षण सिकाई क्रियाकलाप सञ्चालनमा प्रोत्साहन गर्ने जस्ता कार्यक्रमलाई प्राथामिकतामा राखिएको छ ।

यसैगरी स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउने, विद्यालयहरुको विपद व्यवस्थापन सम्बन्धमा आवश्यक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने, विद्यालयका पूर्वाधार अपांगमैत्री, लैंगिकमत्री वातावरण निर्माणमा जोड दिने कार्यक्रम समेटिएको छ ।


यस्तै एक कृषि सहकारी, एक कृषि उपज उत्पादन कार्यक्रम संचालन गर्ने, ’हामी फर्काउँछौं हाम्रो सहकारीको विश्वास’ भन्ने आह्वानका साथ सहकारीप्रति गुमेको विश्वास फर्काउने सहकारीलाई जिम्मेवार बनाउने, उद्यमशिलता प्रवर्द्धन गर्न महिला उद्यमी सहजीकरण केन्द्र र नमुना बस्ती विकास कार्यक्रमको निरन्तरता, जेष्ठ नागरिकको सम्मानका लागि आमाबुवा चौतारी कार्यक्रमको निरन्तरता, बालविवाह न्यूनीकरणका लागि बालिका शिक्षा तथा मुद्दती खाता योजना सञ्चालन गरिने भएको छ ।

यसैगरी वडा नम्बर २० मा जलन उपचार केन्द्र निर्माणका लागि आवश्यक पहल गर्ने, पर्यटन प्रवर्द्धनका लागि भिजिट वेष्टर्न नेपाल २०८१ कार्यक्रम संचालन, नगरभित्रका विभिन्न धार्मिक स्थलहरुको संरक्षण, कृषि कार्यमा कृषि मेशिनरी, औजार उपकरण तथा नवीनतम प्रविधिको प्रयोगमार्फत बाली उत्पादन लागत न्यूनीकरण गरी कृषक आम्दानीमा वृद्धि गर्दै लैजाने, प्रांगारिक खेतीका क्षेत्रहरु विस्तार गर्ने, छाडा पशु व्यवस्थापनका लागि छिमेकी पालिकाहरुसंग समन्वय, सहकार्य गर्दै कान्जीहाउसको स्तरोन्नति गर्ने, पशुको नश्ल सुधारको लागि गाईभैंसीमा निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सार्वजनिक, सरकारी र गुठी जग्गाको खोज, पहिचान र संरक्षण गर्ने, नेपालगञ्ज उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउने, फोहोरमैला र स्वास्थ्य जन्य फोहोर व्यवस्थापन प्रभावकारीरुपमा व्यवस्थापन गर्ने, नगरमा डुबान न्यूनीकरण गर्न नाला सरसफाईलाई निरन्तरता दिने, उद्यमशिलता र स्वरोजगारका अवसरहरु सिर्जना गरी स्थानीय आर्थिक विकासलाई बढवा गर्ने, नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक समन्वय गर्ने, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न रिंगरोडको विकाससंगै सामूहिक बस्ती विकासका लागि पहल गर्ने, नगरभित्र व्यवस्थित पार्किङका लागि आवश्यक पहल गर्ने, ’मेयरसंग रोजगारदाता’ कार्यक्रम सञ्चालन गरी बेरोजगार नागरिकलाई कार्यस्थलमा आधारित तालिम संचालन गरी रोजगारीका लागि पदस्थापन गर्ने, रोजगार मेला सञ्चालन गर्ने, वैदेशिक रोजगारबाट फर्केकालाई उद्यमशिलतामा प्रोत्साहन गर्ने नीति नेपालगञ्ज उपमहानगरपालिकाले लिएको छ ।

सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सभामा प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर २१ का अध्यक्ष राजकुमार साहु, वडा नम्बर १८ का अध्यक्ष अध्यक्ष दीपक कुमार बर्मा, वडा नम्बर ४ का अध्यक्ष गोपाल पुन, वडा नम्बर २० का अध्यक्ष कौशल कुमार धोबी, वडा नम्बर ५ का अध्यक्ष सराफत अलि शेष र वडा नम्बर २ का मनोज कुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगरपालिकाले ल्यायो १ अर्व ५ करोडको बजेट

११ असार २०८१, सोमबार १७:४०
कोहलपुर (बाँके) :  कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि एक अर्व बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा सोमवारदेखि सुरु भएको कोहलपुर नगर सभाको १५ औं अधिवेशनमा नगर उपप्रमुख संगिता सुवेदीले १ अर्व ५ करोड ९ लाख २७ हजार बराबरको आयव्यय विवरण सार्वजनिक […]