महिला तथा बालबालिकाको क्षेत्रमा निकै न्यून बजेट : मन्त्री चौधरी

सदरलाइन संवाददाता १६ जेष्ठ २०८१, बुधबार १८:५७
 

ललितपुर : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्य प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताएकी छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले “हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान” भन्ने नाराका साथ आयोजना गरेको छैटौँ राष्ट्रिय महिला अधिकार दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन ।

समतामूलक समाज निर्माणका लागि महिला तथा बालबालिकाको विकास हुनुपर्ने भन्दै उनले तर अझै पनि राज्यका तर्फबाट महिला, बालबालिका मन्त्रालयलाई निकै न्यून बजेट दिने गरिएको गुनासो गरिन ।

‘भर्खरै बजेट आएको छ । तर, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका क्षेत्र तथा यौनिक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने जिम्मेवारी रहेको महिला मन्त्रालयमा निकै न्यून बजेटको व्यवस्था गरिएको छ’, मन्त्री चौधरीले भनिन्, ‘विगतभन्दा बजेट बढेको छ । तर, समग्रमा हेर्दा बजेट निकै न्यून छ । विकासे मन्त्रालय होइन भनेर महिला मन्त्रालयलाई न्यून बजेट दिने गरिएको छ ।’

बजेट निर्माण प्रक्रियामा आफू पटक–पटक प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग नियमित सम्पर्कमा रहे पनि बजेट आउँदा त्यसरी नआएको उनको गुनासो थियो । ‘मैले आफ्नो जीवनकालमा यस्तो महसुस गरेको थिएन । कि मलाई यो पितृसत्तात्मक समाज नै हो भन्ने महसुस भयो । निकै नराम्रो लागेको थियो’, उनले भनिन्, ‘बजेटका विषमाय पटक–पटक प्रधानमन्त्री अर्थमन्त्रीज्यूसँग छलफल गरेको थिए । हुन त लाइन मिनिस्ट्रिसँग छलफल गरेर बजेटको टुंगो लगाउनुपर्ने थियो तर, त्यसो हुन सकेन । मलाई मेरो जीवनकालमा यस्तो कहिल्यै महसुस भएको थिएन । तर हिजो एकखाले ग्लानी महसुस भएको अवस्था थियो । परम्परागत खालको सोंच रहेछ भन्ने मलाई लाग्यो ।’

महिला अधिकारलाई संस्थागत गरेको दिनको रूपमा जेठ १६ गतेलाई मनाउने गरेको भन्दै उनले संविधानसभामा सबै महिलाहरूले ककस निर्माण गरेर महिला अधिकारलाई संस्थागत गराउन एकजुट भएर काम गरेको बताईन । ‘त्यतिबेला महिलाहरू एकदमै सक्रिय हुनुभएको थियो । जसको कारणले हामीले संविधानमा महिलाका अधिकार सुनिश्चित गर्न सफल रह्यौँ’, मन्त्री चौधरीले भनिन्, ‘यो नतिजा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलगायत अग्रज महिलाहरूको योगदानका कारणले सम्भव भएको हो । राजनीतिक रूपमा सफलता हासिल भएको छ । जुन कुरा संविधानमै सुनिश्चित गरिएको छ । तर अन्य क्षेत्रहरूमा अहिलेपनि महिलाको संख्या निकै न्यून छ । ती क्षेत्रमा पनि महिलाहरूको संख्या वृद्धि गर्नका निम्ती हामीले अझै काम गर्नुपर्ने अवस्था छ ।’


मन्त्री चौधरीले आर्थिक रूपले महिलालाई सशक्तिकरण बनाउने उद्देश्यले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताउँदै बजेट भने सोंचे अनुसार नआएको अहिलेका लागि नमूना रूपमा कार्यक्रम सञ्चालन गरिने बताईन ।

राष्ट्रिय महिला अधिकार दिवसलाई महिला हक अधिकार स्थापनाको लागि आधार तय भएको दिनको रूपमा लिँदै सारभूत समानता सहितको राष्ट्र निर्माणको यात्रामा अघि बढ्न उनले सबैलाई आह्वान समेत गरिन ।

२०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले आमा वा बाबुमध्ये कसैको पनि नामबाट नागरिकता पाउने, एक तिहाइ महिलालाई राज्यका सबै संरचनामा सहभागिताको ग्यारेन्टी गर्ने, विभेदकारी कानूनको खारेजी गर्ने, महिलाप्रति हुने हिंसाको अन्त्य गर्न समेत ४ अधिकारको प्रत्याभूतिका लागि सार्वजनिक महत्वको प्रस्ताव पारित भएको दिनको स्मरण गर्दै हरेक ज्येष्ठ १६ गतेलाई “राष्ट्रिय महिला अधिकार दिवस” मनाउने नेपाल सरकारको निर्णय बमोजिम राष्ट्रिय महिला अधिकार दिवस मनाउने गरिन्छ ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव दिनेश भट्टराईले २०६३ साल जेठ १६ गतेको निर्णयबाट महिलाहरूले प्राप्त गरेको उपलब्धीलाई संस्थागत गर्दै त्यसलाई उत्सवको रूपमा मनाउन जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवसको रूपमा मनाउने निर्णय गरेको बताए ।

सरकारले लैङ्गिक हिंसा विरुद्ध शून्य सहनशिलता अपनाएको बताउँदै सचिव भट्टराईले हवाई उद्धार कार्यक्रम, महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम, लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन गर्दै आएको बताए । महिलाको मर्यादा र आत्मसम्मान स्थापित गर्नु आजको साझा आवश्यकता रहेको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

१६ जेष्ठ २०८१, बुधबार १८:५७
काठमाडौ  : राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका […]