प्रधानमन्त्री प्रचण्डले पाए तेस्रो पटक विश्वासको मत

सदरलाइन संवाददाता ३० फाल्गुन २०८०, बुधबार १७:४३
 

काठमाण्डौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा तेस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा उनको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ ।

पक्षमा बहुमत मत प्राप्त भएकाले उनले विश्वासको मत प्राप्त गरेको सभामुख देवराज घिमिरेले घोषणा गरे । प्रतिनिधिसभामा कायम २७५ सांसदमध्ये बुधबारको बैठकमा २६८ जनाको उपस्थिति रहेको थियो । एक जना सांसदले तटस्थमा मतदान गरे । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार संसद बैठकबाट विश्वासको मत लिएका हुन् ।

विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभामा कायम सदस्यको १३८ मत ल्याउनुपर्ने हुन्छ । प्रधानमन्त्री प्रचण्डलाई सोभन्दा बढी मत प्राप्त भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले यसअघि २०७९ पुस १० गते नेकपा (एमाले) को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुँदा पुस २६ गते पहिलो पटक संसद बैठकबाट विश्वासको मत लिएका थिए । सोपछि ६२ दिनमा प्रधानमन्त्री प्रचण्डले एमालेसँगको गठबन्धन त्यागी नेपाली काँग्रेससँग २०७९ फागुन १२ गते गठबन्धन गरी पुनः प्रधानमन्त्रीको जिम्मेवारीमा आएका थिए ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले पुनः २०७९ चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए । अहिले फेरि काँग्रेससँग गठबन्धन त्यागी फागुन २१ गते एमालेसहित दलसँग नयाँ गठबन्धन बनाएर सरकारको जिम्मेवारीमा रहेकाले काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोहीकारण प्रधानमन्त्री प्रचण्डले पुनः बुधबार तेस्रो पटक विश्वासको मत लिएका हुन् ।


अहिलेको गठबन्धनमा प्रधानमन्त्रीसँग ६ दलको समर्थन रहेको छ । नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदले उनको पक्षमा विश्वासको मत दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डको विपक्षमा नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाका सांसदले मत दिए ।

यसअघि २०७९ पुस २६ गते लिएको विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डले २६८ मत प्राप्त गरेका थिए । त्यतिबेला एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीले उनको समर्थनमा मत दिएका थिए ।

त्यसैगरी सत्ता गठबन्धन फेरिएपछि दोस्रो पटक चैत ६ गते प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिएका थिए । दोस्रो पटक उनले सांसदहरुबाट १७२ मत प्राप्त गरेका थिए । उनको विपक्षमा ८९ मत परेको थियो ।

प्रतिनिधिसभामा रहेको दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोहीकारण प्रधानमन्त्री प्रचण्डले बुधबार विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई स्वतन्त्र सांसद प्रभु साह, अमरेशकुमार सिंह समेतले मतदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रभातफेरी गरी नेपालगञ्जमा मनाइयो मिर्गौला दिवस

३० फाल्गुन २०८०, बुधबार १७:४३
नेपालगञ्ज : नेपालगञ्जमा विश्व मिर्गौला दिवस मनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा नेपालगञ्जमा बिहीवार एक कार्यक्रमका बीच विश्व मिर्गौला दिवस भब्यताका साथ मनाइएको हो । विश्व समुदायमा नसर्ने रोगको जोखिम बढिरहेको बेला सचेतनाका लागि विभिन्न दिवस मनाउने क्रममा बिहीवार विश्व मिर्गौला दिवस मनाइएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले दिवसको अवसरमा बिहान […]

सम्बन्धित