‘कोहलपुरमा प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नति गरिने’

सदरलाइन संवाददाता १६ फाल्गुन २०८०, बुधबार १७:३९
 

नेपालगञ्ज : प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौरले कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि आफ्नो तर्फबाट पहलको प्रतिबद्धता जनाएका छन् ।

कोहलपुर नगरपालिकाको आयोजना, नगर खेलकुद विकास समितिको व्यवस्थापन र जिल्ला क्रिकेट संघ बाँकेको प्राविधिक सहयोगमा बुधवारदेखि कोहलपुरमा शुरु भएको छैठौं अन्तर मावि स्तरीय उपमेयर यु–१९ छात्रा क्रिकेट प्रतियोगिताको उदघाटन सत्रलाई सम्वोधन गर्दै उनले कोहलपुर क्रिकेट मैदानको स्तरोन्नतिसँगै नेपालगञ्जमा पनि थप क्रिकेट मैदानका लागि आफुले पहल गरिरहेको बताए ।

कुनै बेला महिला क्रिकेटरको उर्वर भूमिका रुपमा चिनिएको बाँकेमा अहिले महिला क्रिकेटरको अभाव भएको पाइएको भन्दै उनले विद्यालय स्तरीय यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरे । पछिल्लो समय युवाहरु विभिन्न दुव्र्यसनमा फसेको स्मरण गरेका उनले यस्ता प्रतियोगिताले अनुशासित र स्वस्थ राख्न पनि सहयोग पुर्याउने धारणा व्यक्त गरे ।

बाँके क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित राठौंरले खेलकुद क्षेत्रमा कोहलपुर नगरपालिकाले गरिरहेको लगानीप्रति प्रशंसा व्यक्त गरेका थिए ।


लुम्विनी प्रदेश सभा सदस्य सञ्जुकुमारी थारुले कोहलपुर क्रिकेट मैदान लुम्विनी प्रदेशको पहिचानसँग पनि जोडिएकाले यसको स्तरोन्नति र संरक्षण जरुरी रहेको बताइन्। उनले महिला क्रिकेटरको पहिचान कोहलपुर क्रिकेट मैदानसँग जोडिएकाले पनि यसको संरक्षण, सम्वर्धन र प्रवर्धनमा आफ्नो तर्फबाट पहल हुने प्रतिबद्धता जनाइन् । उनले महिला क्रिकेटरहरुको उत्पादन र भएका खेलाडीहरुलाई समेत संरक्षण गर्ने दायित्व राज्यको रहेको भन्दै त्यसतर्फ ध्यानाकर्षण समेत गराइन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा पूर्व कप्तान एलवी क्षेत्रीले बाँकेको पहिचानसँग जोडिएको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानको व्यवस्थापनमा संघीय सरकारलाई दवाव दिन राठौंरको ध्यानाकर्षण गराए । उनले एउटा इतिहास जोडिएको संरचनाले पूर्णता पाए खेलाडीहरुमा उत्साह थपिने स्मरण गराए । पछिल्लो समय क्रिकेट मैदानमा खेलकुदका गतिविधिहरुलाई बढाउँदै नगरपालिकाले मैदानको उपयोगिता पुष्टि गर्दै आएको भन्दै धन्यवादसमेत दिए ।

कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले महिला क्रिकेटरहरु उत्पादनका लागि प्रतियोगिता उपयोगी हुनेमा जोड दिइन् । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले स्वागत मन्तव्य व्यक्त गरेको उदघाटन कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधि, संचारकर्मी, खेलकुदकर्मी लगायतको उपस्थिति रहेको थियो । ९ दिनसम्म चल्ने प्रतियोगितामा सामुदायिक र संस्थागत गरी १८ विद्यालयको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार बजगाईलाई ‘ठुले’को सम्मान

१६ फाल्गुन २०८०, बुधबार १७:३९
काठमाण्डौं :  सामाजिक तथा पारिवारिक कथामा आधारित धाराबाहिक श्रृखला (वेब सिरिज) ठुलेले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा सञ्चारकर्मी नवराज बजगाईलाई सम्मान गरिएको छ । राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट कला, संस्कृती, साहित्य तथा समाज परिवर्तनमा योगदान पु¥याएबापत सम्मान गरिएको वेब […]