प्राकृतिक वासस्थानमै ‘घडियाल’लाई खतरा

सदरलाइन संवाददाता १२ फाल्गुन २०८०, शनिबार १७:३६
 

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जले गतवर्ष मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने बाँकेको कुसुमस्थित राप्ती नदीमा ‘दुर्लभ’ घडियाल गोही छाड्यो । त्यतिबेला बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रबाट ल्याएर राप्तीमा छाडिएको थियो । नदीमा छाडिएका १० वटा गोही मध्ये अचेल नदीमा दुई वटा मात्रै बाँचेको अनुमान गरिएको छ । निकुञ्जका अनुसार राप्ती नदीको कुसुमस्थित बाँसखोली र बाघखोरमा दुई वटा गोही कहिले काही देखिन्छन् ।

गोही रेखदेख गर्नका लागि निकुञ्जमार्फत तीन जना कर्मचारी खटिएका छन् । उनीहरुले दैनिक रुपमा राप्ती नदीमा अनुगमन गर्छन् । निकुञ्जले यसवर्ष पनि कुसुमस्थित राप्ती नदीमै थप १० वटा घडियाल गोही छाडेको छ । यसपटक भने चितवन राष्ट्रिय निकुञ्जबाट ल्याएर गोही राप्तीमा छाडिएको हो । यसपटक छाडिएका १० मध्ये शत प्रतिशत गोही जोगाउन सकिनेमा निकुञ्जका कर्मचारी नै विश्वस्त छैनन् ।

निकुञ्जले हरेक वर्ष प्राकृतिक बासस्थानका रुपमा रहेको राप्ती नदीमा घडियाल गोही छाडेपनि संरक्षणमा भने चुनौती थपिएको छ । गोही विज्ञका अनुसार ‘मगर’ प्रजातीको गोही भन्दा ‘घडियाल’ शान्त स्वभावको मानिन्छ । यसले मान्छेलाई आक्रमण गर्दैन । यसको प्रमुख आहारा नै माछा हो । सफा पानीमा मात्र यो बस्न रुचाउँछ ।

राप्ती नदी घडियाल गोहीका लागि उपयुक्त बासस्थान भएपनि नदी वरिपरी मानव बस्ती रहेको छ । राप्ती नदीमा आश्रित रहेका आदिवासी समुदायको बसोबास पनि यहाँ धेरै छ । नदीमा माछा मार्ने, सुन चाल्ने समुदायहरु( खुना, कुमाल, बादी लगायत) राप्ती नदी आसपासका गाउँमा धेरै छन् । जसले गर्दा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमै पनि जोगाउन चुनौतीपूर्ण रहेको सम्वद्ध सरोकारवाला बताउँछन् । प्राकृतिक वासस्थानको रुपमा रहेको राप्ती नदीमै ‘घडियाल’ गोहीलाई सुरक्षा खतरा देखिएको छ ।

बाँके राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का नदीमा आश्रित समुदायका लागि आश्र आर्जनको विकल्प नखोजेसम्म राप्तीमा घडियाल गोही संरक्षण गर्न चुनौती नै रहेको तर्क गर्छन् । राप्तीमा आश्रित समुदायका कारण गतवर्ष र यसवर्ष नदीमा छाडिएका २० वटा घडियाल गोही शत प्रतिशत सुरक्षित हुन्छन् भन्न सक्ने अवस्था नरहेको उनले बताए ।


‘अहिले पनि ठुलो समुदाय नदीमा आश्रित छ, माछा मार्ने र सुन चालेर जिविकोपार्जन गर्ने समुदाय पनि छ,’ उनी भन्छन् ‘नदी खोलामा आश्रित समुदायलाई विकल्प खोजौं, समयमा विकल्प खोजेनौं भने गोही सुरक्षित हुन्छन भन्न सकिदैन ।’ पर्यटकीय गतिविधीसँग जोडेर नदीमा आश्रित समुदायलाई जिविकोपार्जन सम्बन्धी काममा लगाउन सकिने उनको सुझाव छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज शाह पछिल्लो समयमा सिमसार क्षेत्र दिनप्रति चपेटामा परिरहेको अवस्थामा गोही संरक्षण गर्न चुनौती देखिएको बताउँछन् । उनी भन्छन्, ‘नदी नालामा माछाको कमी भइसकेको छ, गोहीको आहारा नै माछा हो, यस्तो अवस्थामा गोहीलाई संरक्षण गर्न चुनौती छ ।’ सबैको साझा प्रयासले मात्र गोही संरक्षण गर्न सम्भव हुने प्रमुख संरक्षण अधिकृत शाह बताउँछन् ।

गोही विज्ञका अनुसार घडियाल विशेषगरी नेपाल र भारतमा मात्रै पाईन्छ । केही वर्ष अगाडी अन्य देशहरु पाकिस्तान, भुटान र बंगलादेशमा घडियाल फेला परेको थियो । घडियाल गोहीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ ले पनि संरक्षित वन्यजन्तुको सूचीमा सुचिकृत गरेको छ । गोहीलाई कसैले मारेको खण्डमा कडा कानुनी सजाय हुने ब्यवस्था गरिएको छ ।

कसैले शिकार गरेमा वा मारेको ठहर भएमा एक लाखदेखी ५ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखी १० वर्षसम्म कैद वा दुबै सजाय हुने ब्यवस्था छ । गोहीलाई एक देशबाट अर्को देशमा ओसार–पसार गर्न पनि पूर्णतया प्रतिबन्ध गरिएको छ । तर, दुई देशबीचको सहमतीमा अनुसन्धानका लागि मात्रै ओसार–पसार गर्न सकिन्छ ।

बाँकेका पर्यटन ब्यवसायी कृष्ण चौधरी राप्ती नदीको चारैतिर खुल्ला रुपमा समुदायको ओहोर–दोहोर हुने भएकाले गोही संरक्षण गर्न चुनौती रहेको बताए । ‘गोहीलाई संरक्षण गर्नका लागि स्थानीय समुदायलाई नै सहभागी गराउनुपर्छ,’ होमस्टे ब्यवसायी महासंघका महासचिव चौधरीले भने ‘गोहीलाई पर्यटनसँग पनि जोड्न सकिन्छ, यहाँ आउने पाहुनालाई नदीमा भ्रमण गराउन सकिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारले देश र जनताको हितको पक्षमा कतै कुरा राख्न सक्दैन : डा. राजन भट्टराई

१२ फाल्गुन २०८०, शनिबार १७:३६
काठमाडौं : नेकपा एमाले विदेश विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले वर्तमान गठबन्धन सरकारले राष्ट्रिय हितको पक्षमा काम गर्न नसक्ने बतएका छन । नेकपा एमाले रामेछाप स्कुल विभागले आइतबार मन्थलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले वर्तमान सरकारले देश र जनताको हितमा काम गर्नु त परको कुरा […]

सम्बन्धित