स्वास्थ्य संस्थाको अनुगमन गर्न नेपालगञ्ज उदासीन

सदरलाइन संवाददाता ६ फाल्गुन २०८०, आईतवार १४:१३
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य संस्थाको अनुगमन गर्न तदारुकता देखाएको छैन । उपमहानगरपालिकाले अनुगमन नगर्दा कतिपय चलेका स्वास्थ्य क्लिनिक बिना दर्ता नै चलेका छन् भने धेरैको नवीकरण भएको छैन ।

नेपालगञ्ज उपहानगरपालिकाले स्वास्थ्य ऐन र कार्यविधि बनाएको छ। त्यसमा १५ बेडसम्मको अस्पताल, पोलिक्लिनिक, स्वास्थ्य क्लिनिक, डी र सी ग्रेडका प्रयोगशालाको अनुगमन नियमन गर्नेदेखि दर्ता र नवीकरणसम्म गर्न सक्छ ।

नेपालगञ्जमा १५ बेडका आधा दर्जन अस्पतालदेखि एक सय ५० बढी स्वास्थ्य संस्था छन् । त्यसमध्येमा अहिलेसम्म चारवटाको मात्रै नवीकरण भएको छ । कृपा, सेन्ट्रल सिटी, वैष्णवी अस्पताल र सुपर अल्ट्रासाउण्डको नवीकरण भएको छ । न्यूरो अस्पतालको अनुगमन गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले अनुगमन नगरी नवीकरण गर्दैन । तर, उपमहानगरपालिका अनुगमन गर्न नै जाँदैन । कतिपय अस्पताल र क्लिनिकका अधिकारीले नवीकरण गर्न आइदिनु पर्यो भनेर निवेदन दिएका छन् ।


उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा दुई पटक मात्रै अनुगमन गरेको छ । एक पटक चारवटा संस्थाको अनुगमन गरेर नवीकरण गरेको छ भने अर्को पटक न्यूरो अस्पतालको अनुगमन गरेको छ ।

नेपालगञ्जमा धेरै चलेका स्वास्थ्य क्लिनिक दर्ता बिना नै चलेको पाइन्छ । उपमहानगरपालिकाको नजर त्यसतर्फ गएको छैन। स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृतले नै अनुगमन गर्न चासो देखाइरहेका छैनन् । प्रमुख प्रशासकीय अधिकृत आफू अनुगमनमा नजाने र अरूले अनुगमन गरेर ल्यायो भने हस्ताक्षर पनि नगर्ने स्वभावको रहेको निकटस्थ बताउँछन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले स्वास्थ्य संस्थाको अनुगमन भइरहेको बताए । ‘अनुगमन गर्न आउनु भनेर निवेदन दिनेबित्तिकै जाने पनि हुँदैन । हामीले अनुकूल मिलाएर अनुगमन गरिरहेका छौं,’ चन्दले भने, उपमहानगरपालिकाले अनुगमन गरेर नवीकरण गर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बलात्कार आरोपमा कोहलपुरमा एकजना पक्राउ

६ फाल्गुन २०८०, आईतवार १४:१३
नेपालगञ्ज : बालिका बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरी कारबाही प्रक्रिया अगाडी बढाएको छ । पीडितको स्वास्थ्य परीक्षण गरी प्रतिवेदन लिइएको छ भने पीडकको डीएनए परीक्षण प्रक्रियामा रहेको प्रहरीले बताएको छ । कोहलपुर १० बस्ने युवकले पीडितको कोठामा गई युवतीलाई जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ […]