बाँकेमा बजार अनुगमनलाई निरन्तरता

सदरलाइन संवाददाता ३ फाल्गुन २०८०, बिहीबार १४:०८
 

नेपालगञ्ज : बाँकेका विभिन्न स्थानका नागरिकहरुबाट प्राप्त गुनासो सम्बोधन गर्दै बजार अनुगमनलाई नियमित र निरन्तर जारी राखिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कोहलपुरका विभिन्न स्थानमा म्याद गुज्रिएका वस्तु र सुर्तिजन्य वस्तुहरुको समेत बिक्री हुनुका साथै अधिकांश पसलहरु सम्बन्धित निकायमा दर्ता नगरी सञ्चालनमा रहेको गुनासो आएपछि कोहलपुरमा अनुगमन गरिएको बताए ।

उहाँले केही महिनादेखि बाँकेको नेपालगञ्ज, कोहलपुर र खजुरा बजारमा निरन्तर बजार अनुगमन गर्ने कार्य भइरहेको जनाउँदै कोहलपुरबाट प्राप्त जनगुनासोको आधारमा कोहलपुरमा अनुगमन गरिएको बताए ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा कोहलपुर नगरपालिका र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरु सम्मिलित अनुगमन टोलीले कोहलपुर ११ नयाँ बसपार्क क्षेत्रका विभिन्न पसल, खाजा घर, रेष्टुरेण्ट, किराना पसल, फलफूल पसल र कास्मेटिक पसलको अनुगमन गरेको छ ।


अनुगमनको क्रममा ३० वटा पसल, रेष्टुरेन्ट र खाजाघरमा अनुगमन गरिएको र सो क्रममा सुमन होटल एण्ड रेस्टुरेन्ट, चन्द होटल एण्ड रेस्टुरेन्ट र पौडेल किराना, फलफुल एण्ड कस्मेटिक पसलबाट कुल पाँच हजार ४६० रुपैयाँ मूल्यको म्याद गुज्रिएको पेय पदार्थ बरामद गरी नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

उनले नीलिमा जनरल स्टोर्स र दैलेखी पञ्चकोशी स्टोर तथा सप्लायर्सबाट दुई हजार ८६५ रुपियाँ मूल्यको अवैध सुर्तीजन्य पदार्थ र म्याद गुज्रिएको सामान बरामद गरेर नष्ट गरिएको बताए ।

सोही प्रकारले दर्ता नै नभई सञ्चालनमा रहेका ६ वटा खाजाघर, पसललाई ३५ दिनभित्र अनिवार्य रुपमा दर्ता भएर मात्र व्यवसाय गर्न लिखित निर्देशन दिइएको पनि प्रजिअ पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर प्याब्सनको छैठौं साधारण सभा सम्पन्न

३ फाल्गुन २०८०, बिहीबार १४:०८
कोहलपुर (बाँके) : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल –प्याब्सन) कोहलपुरले आफ्नो छैठौं साधारण सभा सम्पन्न गरेको छ । कोहलपुर नगर प्याब्सनका अध्यक्ष गोविन्द सुवेदीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । संस्थाले कोभिड १९ पछिको विषम परिस्थिती पश्चात् शिक्षण सिकाई क्रिायक्लाप तथा अतिरिक्त क्रियाक्लापलाई पुनः जोड दिँदै विद्याथीहरुको अन्तरनिहीत […]