साइकल यात्रा ‘टुर द ठाकुरद्वारा’ सम्पन्न

सदरलाइन संवाददाता २८ माघ २०८०, आईतवार १४:४१
 

नेपालगञ्ज : शुक्रबारदेखि सुरू भएको ‘टुर द ठाकुरद्वारा’ सम्पन्न भएको छ । नेपालगञ्ज साइकिलिङ क्लबको आयोजनामा बाँके र बर्दियामा पर्यटन प्रवर्द्धनका लागि आयोजित छैटौँ संस्करण बि वाई डि ‘टुर दि ठाकुरद्वारा’ आइतवार बर्दियाको ठाकुरद्वारामा सम्पन्न भएको हो ।

साइकल यात्रामा ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिना भट्टराईले देशैभरिका साइकल यात्री बर्दियामा आउँदा यसले यहाँको पर्यटन प्रवर्द्धनसँगै आर्थिक क्षेत्रमा पनि ठूलो टेवा पुर्याएको बताए । विश्व साइकल यात्री अजित बरालले शरीरलाई स्वास्थ्य राख्न साइकल चलाउन सुझाव दिए ।

भारतीय साईकल यात्री डा अनिकेत राय नेपालमा साइकीलिङ गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए । उनले साइकल यात्राले नेपाललाई मात्र नभई विश्वलाई नै परिवर्तन गर्न सक्ने बताउँदै साइकल यात्रालाई निरन्तरता दिन सुझाव दिए ।

कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार बाँकेदेखि बर्दियाको ठाकुरद्वारासम्मको उक्त साइकल यात्रा एक सय चार किलोमिटर लामो दुरीको रहेको थियो । साइकलयात्राका सहभागीहरु बाँकेको कोहलपुर हुँदै बर्दियाको केदारेश्वर धामदेखि सत्खलुवाको हुलाकी मार्ग हुँदै ठाकुरद्वारा पुगेका थिए ।


सो यात्रामा सहभागी साइकल यात्रीमार्फत यहाँको पर्यटनसँगै बजार व्यवसाय चलायमान बनाउन सहयोग पुग्दै आएको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले बताए । उनले साइकलको यस्ता खाले कार्यक्रमले देशैभरिका साइकल यात्रीको सम्बन्धलाई बाँधेको बताए ।

उनका अनुसार दुई दिने ‘टुर द ठाकुरद्वारा’ कार्यक्रम व्यवस्थापनका लागि २६ लाख खर्च भएको छ । उक्त साइकल यात्रामा भारतसँगै झापा, विराटनगर, धरान, बारा, पोखरा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, नवलपरासी, धनगढी, महेन्द्रनगर, दाङलगायत देशका ठूला सहरबाट दुई सयभन्दा बढी साइकल यात्रीको सहभागिता थियो ।

सात वर्षका बालकदेखि ७० वर्ष उमेर समूहका साइकल यात्रीले ‘टुर द ठाकुरद्वारा’ मा सहभागिता जनाएका थिए । बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीयस्थलको प्रचार गर्ने उद्देश्यले विगत छ वर्षदेखि टुर द ठाकुरद्वारा आयोजना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्ने मुख्यमन्त्रीको दावी

२८ माघ २०८०, आईतवार १४:४१
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म पुर्याउने योजनामा प्रदेश सरकार रहेको बताउका छन् । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको छैठौँ प्रदेशसभामा मुख्यमन्त्री चौधरीले नीजि क्षेत्रले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म पुर्याउन कार्यमा सहयोग गर्न समेत आग्रह गरे । कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएको […]