सडक सुरक्षा सचेतनाका लागि बाँकेमा जागरण अभियान

सदरलाइन संवाददाता २४ माघ २०८०, बुधबार १७:४२
 

नेपालगञ्ज : बाँकेमा सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन गरिने भएको छ । बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात मजदुर तथा व्यवसायीहरूसँगको सहकार्यमा जिल्लाभर जागरण अभियान सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए ।

“यो अभियान जीवनसँग जोडिएको अभियान हो, सडक दुर्घटना न्यूनीकरणका लागि सबैको चासो हुनु जरुरी छ”, उनले भने, “हामीकहाँ राजमार्गको अवस्था उस्तै छ तर सवारीसाधन भने बढेको बढ्यै छन् त्यसैले यो अभियान गर्न जरुरी छ ।” प्रहरी निरीक्षक सुवेदीले यो अभियानमा सवारी चालक, पैदलयात्रीलगायत सरोकारवाला सबैलाई नैतिक शिक्षा सिकाउनुका साथै ट्राफिक नियम पालनका लागि जागृत गराउने बताए ।

बाँकेमा चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ५७ सवारी साधनको दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो । यी दुर्घटनामा परी ४२ जना सख्त घाइते भएका र उनीहरूमध्ये केहीको अझै पनि उपचार भइरहेको जनाइएको छ । प्रहरी निरीक्षक सुवेदीले मादक पदार्थ सेवन, लापरबाही र तीव्रगतिको सवारीसाधनका कारण दुर्घटना बढ्दै जानुका साथै अनाहकमा निर्दोषको ज्यान जाने गरेको बताए ।

बाँकेमा गत आर्थिक वर्षमा एक सय २४ सडक दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको र एक सय २९ जना घाइते भएका थिए । दुर्घटनामा परेर १० वटा पशुचौपाया मरेका थिए । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सडक दुर्घटना महामारीझै बढिरहेकाले यसलाई रोक्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए ।


अध्यक्ष राईले दसवर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका भन्दा बढी सडक दुर्घटनामा नेपाली नागरिकले ज्यान गुमाइरहेका छन् भन्दै देशमा प्रत्येक दिन सातदेखि आठजना र वर्षमा सडक दुर्घटनामा परेर सरदर दुई हजार आठ सय ८० जनाले ज्यान गुमाउनुका साथै प्रत्येक वर्ष १४ हजार चार सय व्यक्ति घाइते भइरहेको बताए । “सडक पूर्वाधार निर्माण सुस्त छ, नयाँ ढङ्गले काम हुनसकेको छैन”, अध्यक्ष राईले भने, “सडक दुर्घटनाको कारण चालकलाई देखाएर राज्य पन्छिने गरेको छ ।”

सडकमा पूर्वाधार अभाव र मानवीय त्रुटिका कारण बढीजसो हुने दुर्घटना रोक्न सबैको दायित्व रहेको उल्लेख गदै उनले यातायात मजदुरलगायत राज्यका सबै निकायले आ–आफ्नो क्षेत्रबाट भएका कमीकमजोरी सच्याएर दुर्घटनाको विकराल अवस्थालाई कम गर्न हातेमालो गर्नुपर्नेमा जोड दिए । अध्यक्ष राईले सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले बाँकेसहित देशभर सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन शुरु गरेको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीको नेतृत्वमा यातायात व्यवसायी, मजदुरसहितको पाँच सदस्यीय सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान समिति गठन गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाबाट अछामका लागि १ हजार क्विन्टल चामल कोटा

२४ माघ २०८०, बुधबार १७:४२
बर्दिया : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय अछामले प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने भएको छ । आज समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले कार्यालयबाट प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने जिल्ला खाद्य व्यवस्थापन समितिले निर्णय गरेको हो । हालसम्म प्रतिव्यक्ति २५ […]

सम्बन्धित