कांग्रेसमा पुस्तान्तरण आवश्यक : नेता कोइराला

सदरलाइन संवाददाता २३ माघ २०८०, मंगलवार १७:४३
 

नेपालगञ्ज : नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री शशाङ्क कोइरालाले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यक रहेको बताएका छन् । नेपाल प्रेस युनियन दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व महामन्त्री कोइरालाले लामो समय एउटै व्यक्ति र विचारले पार्टी चल्न नसक्ने भन्दै नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको बताएका हुन् ।

कांग्रेसलाई सबल र सक्षम पार्टी बनाउनका लागि वडा तहदेखि केन्द्रस्तरसम्म पुस्तान्तरण हुनुपर्ने बताए । उनले पार्टीमा पटक पटक पुस्तान्तरणको कुरा चल्ने गरे पनि व्यवहारमा देखिन नसकेको बताए । उनले भने, ‘‘कांग्रेसलाई रूपान्तरण गर्नका लागि पुस्तान्तरण आवश्यक छ । यदि युवाले पुस्तान्तरणको लागि हिम्मत गर्ने हो भने म पार्टी सभापतिका लागि तयार छु ।’ समुदायमा कांग्रेस खोजी रहँदा युवा जनशक्ति पलायन हुनु दुखद रहेको बताउँदै नेता कोइरालाले अब सुदृढ, समृद्ध कांग्रेस बनाउँदै देश विकासमा समर्पित गर्ने काममा ढिलाइ गर्न नहुने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री पदलाई फाटेको जुत्ता भन्दै नेता कोइरालाले उक्त पदमा जो कोही पनि जानसक्ने भएकाले त्यसमा रहने व्यक्तिले विवेकपूर्ण नीति र विचारले मुलुकलाई अगाडि बढाउनु पर्ने बताए । राजनीतिमा सबैभन्दा महत्त्वपूर्ण कुरा विवेकको प्रयोग भएको भन्दै नेता कोइरालाले अरूको निर्देशनभन्दा प्रधानमन्त्रीदेखि मन्त्रीहरूले आफ्नो विकेक प्रयोग गरेर जनताको पक्षमा काम गर्नुपर्ने बताए ।


सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेकाले जनतामा आशाभन्दा निराशा बढी छाएको बताए । उनले भने,‘‘देशको प्रमुख पार्टीका रूपमा कांग्रेस रहेपनि सरकारमा सहभागी भएका दलमा वैचारिक मतभेद, सरकारमा बस्नेको विचारमा अस्पष्टता, विवेकको सही प्रयोग नगर्दा जनताको सेवामा खटिनुपर्ने सरकारले जनअपेक्षा अनुसार गति लिन सकेको छैन ।’’

युवाको भविष्य स्वदेशमै सुन्दर रहेको भन्दै नेता कोइरालाले त्यसका लागि निराशालाई चिर्ने गरी सरकारले काम गर्नुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुर्घटनामा मृत्यु भएका प्रहरीको परिवारलाई आर्थिक सहयोग

२३ माघ २०८०, मंगलवार १७:४३
नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले सडक दुर्घटनामा परी मृत्यु भएका प्रहरीको परिवारलाई आर्थिक सहयोग गरेको छ । बर्दिया स्थायी घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत रहेका बेलामा गत माघ १४ गते सडक दुर्घटनामा परी मृत्यु भएका प्रहरी जवान स्वर्गीय विकाश डाँगीको परिवारलाई सहयोग स्वरुप आर्थिक रकम प्रदान गरिएको […]